बैंकक । म्यान्मारकी नेतृ आङ सान सु की पहिलो पटक अदालतमा स्वयं उपस्थित भएकी छन् । गत फेब्रुअरी १ तारिखका दिन सत्ताच्यूत गरिएकी सु कीलाई त्यसयता सेनाले विभिन्न आरोपमा गिरफ्तार गरी जेलमा राखेको थियो ।
उनका एक जना वकील मिन मिन सो ले टेलिफोनमा बताए अनुसार सु कीलाई राजधानी न्यापिटअस्थित नगर परिषद भवनमा स्थापना गरिएको विशेष अदालतमा उपस्थित हुनुअघि आफ्ना वकीलहरुसँग भेट गर्न दिइएको छ ।
कानुन व्यवसायीहरुले अपदस्थ राष्ट्रपति विन मिन्टसँग पनि भेटघाट गरेका छन् । मिन्ट विरुद्ध पनि सु कीका झैं आरोपहरु लगाइएका छन् ।
सु की विरुद्ध धेरैवटा फौजदारी अभियोग लगाइएको छ । यसअघि सु कीलाई भिडियो लिङ्क मार्फत अदालती सुनुवाई गरिएको थियो । उनलाई कुनै पनि कानुन व्यवसायीसँग भेटघाट गर्न दिइएको थिएन ।
कानुन व्यवसायी मिन मिन सो ले म्यान्मारका जनताप्रति सु की ले सन्देश पठाउँदै नेसनल लिग फर डेमोक्रेसी पार्टी (एनएलडी) जनताको अधिकारको पक्षमा सदा झैं अटल भएर उभिने प्रतिबद्धता व्यक्त गरेका छन् ।
सुनुवाई पश्चात मिन मिनले भनिन्, “सुकीले अदालतमा आम बर्मेली जनताको सुस्वास्थ्य र भलाई होस् भन्नुभयो, र एनएलडी जनताको पार्टी भएकाले जनता रहेसम्म एनएलडी सदा जीवित रहने छ ।”
मिन मिनले भनिन्, “सु की स्वस्थ र आत्मविश्वासपूर्ण देखिनु भएको छ ।”
सोमबारको सुनुवाईमा सु की विरुद्ध लगाइएका मुख्यतः छ वटा फौजदारी मुद्दामाथि केन्द्रित रहेर सोधपुछ गरिएको थियो ।
उनीमाथि सन् २०२० को चुनावी अभियानका क्रममा कोभिड–१९ का नियमहरु उल्लङ्घन गरेको, सु कीका अङ्गरक्षकका लागि वाकी–टाकीहरु गैरकानुनी रुपमा आयात गरेको, रेडियोको लाइसेन्स नलिएको तथा सार्वजनिक अस्थिरता फैल्याउने गरी समाजमा भ्रम फैल्याएको आरोप छ ।
सु की माथि लगाइएको सबैभन्दा गम्भीर आरोप उपनिवेशकालीन सरकारी गोप्यता सम्बन्धी ऐनको उल्लङ्घन हो । यस कानुनको उल्लङ्घन गर्नेमाथि १४ वर्षसम्मको जेल सजाय हुन सक्दछ र यस मुद्दाको सुनुवाई अर्कै अदालतले हेर्दैछ ।
सु की का समर्थकहरुले अदालती सुनुवाई राजनीतिक प्रेरित रहेको बताउँदै आएका छन् । उनीहरुको भनाईमा सेनाले आफूले सत्ता हत्याएको कुरा प्रमाणित गर्न चाहिरेको छ । यदि यी मुद्दाहरुमा सु की दोषी ठहर भए आगामी एक वा दुई वर्षभित्र सेनाले गराउने भनिएको चुनावमा सु कीलाई उठ्न दिइने छैन ।
सेनाले सत्ता विद्रोह गरेयता लोकतन्त्र पुनर्वहालीको माग गर्दै सडकमा उत्रेका पाँच सयभन्दा बढी व्यक्तिको सेनाको गोली लागेर ज्यान गइसकेको छ । (एपी)
प्रतिक्रिया दिनुहोस
एजेन्सी
सोमबार, १० जेठ २०७८, १४ : ०६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
म्यान्मारमा सैनिकको हवाई आक्रमणबाट ११ सर्वसाधारणको मृत्यु
म्यान्मारको सेनाले भन्यो– जुन्टा प्रमुखलाई हिरासतमा लिइएको भन्ने प्रचार अफवाह मात्रै