जीवन भोगाइ र अनुभवको लिखित सँगालो नै पुस्तक हो : पूर्व प्रधानन्यायाधीश कार्की

सफल खबर संवाददाता

शनिबार, ३० चैत्र २०८१, १६ : १०
जीवन भोगाइ र अनुभवको लिखित सँगालो नै पुस्तक हो : पूर्व प्रधानन्यायाधीश कार्की

काठमाडौँ । पूर्व प्रधानन्यायाधीश सुशीला कार्कीले मान्छेले आफ्नो जीवनमा देखे, भोगेका विविध आयामहरूलाई भाषा र सिलसिला मिलाएर लेख्नु नै साहित्य भएको बताएकी छन् । शनिवार काठमाडौँमा आयोजित साहित्यकार गोपाल पाण्डेको पुस्तक विमोचन कार्यक्रममा कार्कीले पुस्तक लेख्दा भाषागत रूपमा पठनीय हुनुपर्ने बताएकी हुन् ।

उनले आम नेपालीको जीवनयापनका क्रममा भोगेका अनुभवको सँगालोमा साहित्यिक पुस्तकहरू  लेख्न सकिने बताइन् । पाण्डे परिवार साहित्य लेखनमा मात्रै नभई देशलाई माथि उकास्ने खानदानी परिवारको रूपमा चिनिएको उनको भनाई छ । 

उनले भनिन्, मान्छेले जे देखेको हुन्छ, जसलाई पर्सेप्सन भन्छ त्यसैलाई भाषा  मिलाएर एउटा राम्रो पठनीय हिसाबबाट लेख्यो भने त्यो साहित्य हुन्छ । उहाँले आफ्नो दुःख सुख गरेर हाम्रो आम नेपालीहरूको लाइफै के छ र पहाडतिर बस्ने उकालो ओरालो हिँड्यो भुटेको मकै खायो, भटमास खायो । हाम्रो पिँढीले त त्यही नै भोगेको हो ।

त्यो बेलाको उहाँले यो पुस्तकमा पुरा जीवन लेख्नुभएको छ । गोपाल असीम पाण्डे भनेपछि कसले नचिन्ने र ? गाउँ सेवा नै देशको सेवा हो भनेर आफ्नो अन्तर मनको भावनालाई प्रस्तुत गर्नुभएको छ ।’पूर्व प्रधानन्यायाधीश कार्कीले अन्तर आत्मामा छुने भावनात्मक विचारले भरिपूर्ण पाण्डेको लेखन प्रशंसनीय भएको बताइन् ।

प्रतिक्रिया दिनुहोस