चितवन । चितवन जिल्लालाई ‘मेडिकल सिटी’ का नामबाट पनि चिन्ने गरिन्छ । आम मानिसको बुझाइ यो शहरमा पुगेपछि उपचार नपाएर मर्नुपर्दैन भन्ने छ । यहाँका स्वास्थ्य संरचना एवं स्वास्थ्य संस्थाहरु र विशेषज्ञ चिकित्सकहरुको उपलब्धताका कारण यसो भनिएको हो । आम नागरिकको यो बुझाइलाई यतिखेर कोभिड सङ्क्रमणका विरुद्ध लडिरहेको चितवन जिल्लाले सत्य सावित गरेको छ ।
राजधानी लगायत ठूला शहरमा कोभिडको उपचार नपाएर धेरैले ज्यान गुमाउनु परेको गुनासो सुनिँदै गर्दा यहाँ भने हालसम्म यस्तो गुनासो सुन्नु परेको छैन । तथ्याङ्कमा अक्सिजन अभाव देखिए पनि यहाँका बिरामीले अक्सिजन नपाएर मर्नुपरेको छैन । श्ययाको अभावमा बिरामी भुईंमा राखेर उपचार गर्नुपर्ने अवस्था पनि अहिलेसम्म सिर्जना नभएको अस्पतालहरु बताउँछन् ।
ठाउँठाउँमा बिरामी श्ययाको अभावमा छट्पटाईरहँदा यहाँका सरोकारवालाहरुले शय्या र अक्सिजनको अभाव हुने भन्दै समयमै तयारी गरेका कारण समस्या जटिल बन्न पाएको छैन । कोभिडको उपचार गरिरहेका अस्पतालहरुले श्यया विस्तार र अक्सिजनका प्लान्ट थप गरिरहेका छन् । दाताहरुले गरेको सहयोग पनि उल्लेखनीय छ ।
जिल्लामा श्यया र अक्सिजन मात्रै होइन, गम्भीर अवस्थाका विरामीको उपचार क्रिटिकल केयरमा काम गर्ने जनशक्ति र उपकरणहरु पर्याप्त मात्रामा भएका कारण कोभिडसँग लड्न कठिनाई परेको छैन । अस्पताल भरिँदै गएपछि र अक्सिजनको अभाव हुने सङ्केत पाएपछि आफू चार रात नसुतेको प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछाने बताउँछन । उनले भने “अहिलेसम्म कोभिड बिरामीका लागि कुनै किसिमको अभाव हुन दिएका छैनौँ र अभाव हुन नपाओस् भनेर पनि हामीहरु निरन्तर जुटिरहेका छौँ ।”
जिल्लामा रहेको सरकारी भरतपुर अस्पताल, दुई वटा मेडिकल कलेज, वीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल र पुष्पाञ्जली अस्पतालले कोभिडका सङ्क्रमितहरुको उपचार गरिरहेका छन् ।
प्रतिक्रिया दिनुहोस
रासस
बुधबार, ०५ जेठ २०७८, १४ : ३४
लेखकबाट थप