नेपाल सुपर लिग : उपाधि उचाल्ने दुबै टोलीको दावी

सफल खबर संवाददाता

शुक्रबार, ३१ बैशाख २०७८, १७ : ३९
नेपाल सुपर लिग :  उपाधि उचाल्ने दुबै टोलीको दावी

काठमाडौं । नेपालमा पहिलो पटक आयोजना भएको फ्रेन्चाईज फुटबल प्रतियोगिता नेपाल सुपर लिग (एनएसल) मा शनिबार धनगढी फुटबल क्लब र काठमाडौं रेजर्स उपाधिका लागि प्रतिस्पर्धा गर्दैछन् । ट्रफी सार्वजनिक तथा प्रि–म्याच कन्फरेन्समा बोल्दै दुबै टोलीका कप्तानले उपाधि उचाल्ने दावी गरे । 

लिग चरणका खेलबाट शीर्ष स्थानमा रहँदै प्ले अफमा प्रवेश गरेको काठमाडौं रेजर्सले इलिमिनेटर खेलमा भाग्यमाथि हुँदै अन्तिम दुईमा स्थान बनाउन सफल भएको थियो । यही टोली शनिबार पहिलो क्वालिफायरमा प्रतिस्पर्धा गरेको टोली धनगढीविरुद्ध उपाधिका लागि प्रतिस्पर्धा गर्दैछ । 

काठमाडौं मैदान उत्रिदा लिग चरण र पहिलो क्वालिफायरमा हारेको बदला लिने अवसर मिलेको छ ।टोलीका प्रशिक्षक बालगोपाल महर्जनले यस अघिका दुई खेलमा भोगेको पराजयमा भएका कमी कमजोरीलाई सुधार गर्दै आफ्नो टोली उपाधिलाई मैदान उत्रिने र उपाधि काठमाडौंमा नै राख्ने प्रतिक्रिया दिए ।  

प्रशिक्षक महर्जनले केही खेलाडीमा चोट भए प्रतिस्पर्धाका लागि टोली पुग्ने भन्दै फाइनल खेलमा सुखद नतिजा निकाल्नेमा आफ्नो टोली तयार रहेको थपे । कप्तान  विकेश कुथुले प्रशिक्षकको भनाईलाई साथ दिँदै पहिलो संस्करणको उपाधि जितेर इतिहास रच्ने लक्ष्यका साथ आफ्नो टोली मैदान उत्रिने प्रतिक्रिया दिए ।

उता पहिलो क्वालिफायरमा काठमाडौंमाथि अतिरिक्त समयमा रोमाञ्चक जित निकाल्दै फाइनलको ढोका खोलेको धनगढीले पनि सहजै उपाधि उचाल्नेमा आत्मविश्वासी देखियो । प्रशिक्षक तोपे फुजाले लिग चरण र क्वालिफयारमा निकालेको जितले खेलाडीमा आत्मविश्वास भएको र फाइनल खेल पनि आफ्नो पोल्टामा पर्ने दावी गरे ।यस्तै धनगढीका  कप्तान किरण चेम्जोङले सुरुआती खेलमा आफ्नो टोलीले सोचे जस्तो प्रदर्शन गर्न नसके पनि पछिल्ला खेलमा लय समात्न सफल भएको भन्दै फाइनलमा पनि राम्रो गर्ने विश्वास व्यक्त गरे ।

सोही कार्यक्रममा विजयी टोलीलाई प्रदान गरिने ट्रफी पनि सार्वजनिक गरियो । फाइनल पुगेको धनगढीले लिग चरणका काठमाडौंलाई २–१ ले पराजित गरेको थियो भने काठमाडौंले इलिमेनेटरको विजयी टोली ललितपुर सिटीमाथि दोस्रो क्वालिफायर खेलमा ३–० को जित निकाल्दै धनढीसँगको भिडन्त पक्का गरेको थियो ।

पहिलो पटक आयोजना भएको फ्रेन्चाई फुटबल प्रतियोगिताको विजेताले नगद ३५ लाख रुपैयाँ प्राप्त गर्नेछ । यस्तै उपविजेताले १५ लाख रुपैयाँ पाउनेछ भने व्यक्तिगत विधाका विजेता तथा एक जना उदीयमान खेलाडीले जनही १ लाख रुपैयाँ पाउनेछन ।

 
 

प्रतिक्रिया दिनुहोस