कृषिमा वैदेशिक लगानीका क्षेत्रबारे सरकार अस्पष्ट छ : सांसदहरू

सफल खबर संवाददाता

आइतबार, २२ चैत्र २०७७, १६ : ५९
कृषिमा वैदेशिक लगानीका क्षेत्रबारे सरकार अस्पष्ट छ : सांसदहरू

काठमाडौँ  । कृषिमा वैदेशिक लगानी ल्याउन अनुमति दिने तर कृषिको कुन क्षेत्रमा लगानी ल्याउन लागिएको हो भन्नेबारे सरकार स्पष्ट हुनुपर्ने सांसदहरूले सुझाएका छन् ।कानुनी रूपमा नै सरकार स्पष्ट भएर कृषिको कुन क्षेत्रमा वैदेशिक लगानी ल्याउन दिने हो भन्नेबारे स्पष्ट व्यवस्था हुनुपर्ने प्रतिनिधिसभाका सांसदहरूले बताएका हुन् । 

प्रतिनिधिसभा अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको आइतबारको बैठकमा सांसदहरुले सरकारले कृषिमा विदेशी लगानी भित्र्याउने निर्णय गर्दा कुन(कुन क्षेत्रमा भित्र्याउने हो स्पष्ट पार्नुपर्ने बताएका हुन् । सरकारले कृषिमा विदेशी लगानी भित्र्याउने भने पनि त्यसका लागि प्राथमिकताका क्षेत्र निर्धारण नगरेको सांसदहरूले बताएका हुन् ।

समिति सभापति विमलप्रसाद श्रीवास्तवले कृषिको कुन(कुन क्षेत्रमा विदेशी लगानी आवश्यक हो स्पष्ट हुनुपर्ने बताए । वैदेशिक लगानी भित्र्याउने कृषिका विधालाई छुट्याउनुपर्ने उनको भनाइ थियो ।

सांसद अमृतादेवी अग्रहरीले नेपालको कृषिमा वैदेशिक लगानी आवश्यक रहेको धारणा राखिन् । कृषिमा उत्पादन बढाएर निर्यात गर्नका लागि विदेशी लगानी आवश्यक रहेको उनको भनाइ थियो ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव दिनेश भट्टराईले कृषि उत्पादनलाई आत्मनिर्भर बनाउँदै निर्यातको चरणमा जान ठूलो लगानीको आवश्यकता पर्ने भएकाले कृषिमा विदेशी लगानीको आवश्यकता देखिएको बताए । स्वदेशमै रोजगारी सिर्जना गर्न उद्योगहरू स्थापना गर्नका लागि राज्यले आवश्यक ठानेर नै कृषिमा विदेशी लगानी भित्र्याउन लागेको उनले बताए ।

कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका सचिव पेमनारायण कँडेलले नेपालको प्राथमिक उत्पादनलाई हानी नहुने गरी कृषिमा विदेशी लगानी भित्र्याउनुपर्ने बताए । कृषि क्षेत्रमा लगानी गर्न निजी क्षेत्रहरू पनि आकर्षित रहेको सन्दर्भमा त्यसतर्फ पनि ध्यान दिनुपर्ने बताए ।

कृषिमा विदेशी लगानी खुला गर्ने सन्दर्भमा समितिमा सरोकारवाला निकायसँग विभिन्न चरणमा छलफल भइरहेको छ । आगामी बैठकमा अझ बिस्तृत रुपमा सम्बन्धित मन्त्रालयका मन्त्रीसहित बसेर समितिमा छलफल गरिने भएको छ ।

प्रतिक्रिया दिनुहोस