हिमताल फुटेर थामेमा आएको बाढीबारे अनुसन्धान गर्न सांसदहरूको माग

सफल खबर संवाददाता

आइतबार, ०२ भदौ २०८१, १४ : ४५
हिमताल फुटेर थामेमा आएको बाढीबारे अनुसन्धान गर्न सांसदहरूको माग

काठमाडौँ । हिमताल फुटेर सोलुखुम्बुको थामेमा आएको बाढीबारे अनुसन्धान गर्न सांसदहरुले माग गरेका छन् । आइतबार राष्ट्रिय सभामा आकस्मिक, शून्य समय र विशेष समयमा बोल्दै सांसदहरूले यस्तो माग गरेका हुन् ।

नेकपा एकीकृत समाजवादीकी सांसद जयन्तीदेवी राईले जलवायु परिवर्तनका कारण हिमताल फुटेको र थामेमा बाढी आएको मौसमविद्हरूले बताएको उल्लेख गर्दै यसप्रति सरकारलाई सतर्क हुन आग्रह गरिन् ।

‘जलवायु परिवर्तनको कारण थामे घटना हो भन्ने आएको छ । यस्तो घटना फेरि पनि दोहोरिन सक्छन् । यो विषयमा हामी गम्भीर हुन जरुरी छ’, उनले भनिन् । साउन ३२ गते सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका-५ को थामेमा हिमताल फुटेर बाढी आएको थियो । नेकपा एमालेका सांसद सोनाम गेल्जेन शेर्पाका अनुसार लेदोसहितको बाढीले १३ वटा घर पूर्ण रूपमा क्षति भएको छ ।

४१ वटा घर बस्न नमिल्ने भएको छ । १० वटा घरमा आशिंक क्षति पुगेको छ । ‘हिमबाढी’मा परी एक जना बेपत्ता भएका छन् । विद्युत् सेवा बन्द भएको शेर्पाको भनाइ छ । शेर्पा त्यस क्षेत्रको अवलोकनमा समेत पुगेका थिए । जलवायु परिवर्तनकै कारण हिमताल फुटेको निष्कर्षमा पुगिएको उनले सुनाए । ‘नेपालमा जलवायु परिवर्तनको असर धेरै देखिन थाल्यो । यो असरलाई अन्तराष्ट्रिय मञ्चमा कसरी प्रस्तुत गर्ने रु यो विषयमा सरकारको ध्यानाकर्षण गराउन चाहन्छु’, उनले भने ।

नेपालमा जलवायु परिवर्तनको असरका सम्बन्धमा अनुसन्धान गरेर अन्तर्राष्ट्रिय स्तरमा दरिलो गरी प्रस्तुत हुनुपर्नेमा उनले जोड दिए । थामेमाथि पाँच वटा हिमताल रहेको र त्यसमध्ये दुई वटा फुटेको र थप दुई वटा जोखिममा रहेको बताइएको उल्लेख गर्दै नेपाली काँग्रेसका सांसद कृष्णबहादुर रोकायाले सतर्कता अपनाउन सरकारलाई आग्रह गरे ।

साथै हिमताल किन फुटे भनेर अनुसन्धान गर्न पनि उनको माग छ । ‘पाँचमध्ये दुइटा ताल फुटे र थप दुई फुट्ने क्रममा रहेको भनिएको छ । यसको अनुसन्धान होस् । थप क्षति हुन सक्ने बस्ती तत्कालै स्थानान्तरण गरियोस्’, सांसद रोकायाले भने ।

नेकपा एमालेकी सांसद इन्दिरादेवी गौतमले ‘हिमाल जोगाऔँ’ अभियान चलाउन सरकारलाई आग्रह गरिन् । जलवायु परिवर्तनको असर देखा पर्न थालेको भन्दै उनले यसका सम्बन्धमा नेपालले अभियान चलाउनुपर्ने बताएकी हुन् ।

नेकपा माओवादी केन्द्रका सांसद गोपीबहादुर सार्की अछामीले सोलुखुम्बुसहित हिमताल फुटेर हुन सक्ने सम्भावित क्षेत्रको बस्ती स्थानान्तरणका लागि सरकारले तत्काल पहल लिनुपर्ने बताए । जोखीमका बस्ती स्थानान्तरण गरेर अनुसन्धानमा सरकार अगाडि बढ्नुपर्ने उनको सुझाव छ ।

प्रतिक्रिया दिनुहोस