काठमाडौँ। सांसदहरुले बाँकेको जयन्दु बाल सुधारगृहमा शनिबार भएको तनावबारे सरकारको ध्यानाकर्षण गराएका छन् । बाल सुधारगृहमा साना-ठूला उमेर समूहकालाई एकै ठाउँ राखिएकाले पनि बेला बेला तनाव हुने गरेको भन्दै सांसदहरुले सुरक्षित र व्यवस्थित बनाउन माग गरेका छन् ।
प्रतिनिधि सभाको आकस्मिक समयमा बोल्दै सांसद रोशन कार्कीले सरकारले बाल सुधार गृह बनाउन खोजेको हो कि ‘बाल बिगार केन्द्र’ ? भनेर प्रश्न गरिन् ।
महिला तथा सामाजिक मामिला समितिले महिला मन्त्रालय र सम्बन्धित पदाधिकारीलाई बोलाएर निर्देशन दिएको छ । तर सरकारले कुनै पनि प्रकारको ध्यान दिएको छैन । देशका विभिन्न ठाउँका बाल सुधार गृहको अवलोकन गर्दा त्यहाँ न्यूनतम मापदण्ड पालना नभएको, लागुपदार्थ सेवन हुने गरेको र खाना पनि राम्रो नहुने गरेको भन्दै उक्त समस्या समाधान हुनुपर्ने बताइन् ।
नेकपा माओवादी केन्द्रका सांसद देवेन्द्र पौडेलले जेलका कैदीबन्दी बिरामी भए हुनुको कारणबारे सरकारले जानकारी दिनुपर्ने बताए । ‘२९ हजार ५०० कैदीबन्दीमध्ये १८ हजार ५०० बिरामी भएको सूचना सार्वजनिक भएको छ । के भएको हो, किन यस्तो भएको हो सदनमा सम्बन्धित निकायले प्रष्ट पार्न माग गर्दछु ,’ उनले भने ।
सांसद दीपा शर्माले बाल सुधारगृहमा १० वर्षदेखि ३० वर्षसम्मका बालबालिकालाई एकै ठाउँमा राखिएकाले झगडा र तनाव हुने गरेको बताइन् । त्यसैले उनीहरूलाई छुट्टाछुट्टै राख्ने व्यवस्थाका लागि उनले माग गरिन् ।
अर्की सांसद शान्ति श्रेष्ठले पनि बाल सुधार गृहलाई व्यवस्थित र शान्ति सुव्यवस्थाका लागि सरकारको ध्यानाकर्षण गराइन् । शुक्रबार होलीको विषयमा दुईपक्षबीच भएको झडपले बाँकेको डुडुवास्थित जयन्दु बाल सुधारगृहमा शनिबार दिनभर तनाव भएको थियो । त्यहाँको गेट तोडेर निस्किएका बालबन्दीहरुले प्रहरीमाथि कुटपिट, पसलमा लुटपाट र स्थानीयको परालको टौवामा आगजनी गरेका थिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ०३ चैत्र २०८१, १४ : १७
लेखकबाट थप