आज अन्तर्राष्ट्रिय महिला दिवस, कसरी मनाउन थालियो यो दिवस ?

विश्वभरि नै विभिन्न कार्यक्रम गरि मनाईँदै

सफल खबर संवाददाता

सोमबार, २४ फागुन २०७७, ०८ : ४२
आज अन्तर्राष्ट्रिय महिला दिवस,  कसरी मनाउन थालियो यो दिवस ?

काठमाडौँ । आज १११ औं अन्तर्राष्ट्रिय महिला दिवस । नेपालसहित विश्वभर धुमधामसँग मनाईँदैछ। दिवसकै अवसर पारेर देशका विभिन्न क्षेत्रमा विभिन्न कायक्रम हुँदै छन् । महिलाले सामाजिक, राजनीतिक, आर्थिक र साँस्कृतिकसहितका विभिन्न क्षेत्रमा झेल्नु परेको समस्या र त्यसको अवस्थाका बारेमा वकालत गर्ने र जागरुक बनाउने उद्देश्यले अन्तर्राष्ट्रिय महिला दिवस मनाउदैं आईएको छ ।

यस वर्ष ‘महिलाको सुरक्षा, सम्मान र रोजगारः समृद्ध नेपालको आधार’ भन्ने राष्ट्रिय सङ्कल्पका साथ महिला दिवस मनाइँदै छ । दिवसको अन्तर्राष्ट्रिय नारा भने ‘चुनौती दिने रोजाइ लेउ’ भन्ने तय गरिएको छ । हरेक वर्ष यहि उद्देश्यसहित विश्वभर मार्च ८ का दिन अन्तर्राष्ट्रिय महिला दिवस मनाइन्छ। महिलाको अवस्था र सहभागिता सामाजिक, राजानीतिक, आर्थिक तथा साँस्कृतिक क्षेत्रमा बलियो बनाउँदै लैजानका लागि वकालत गर्ने अर्थात महिलाको सबलिकरणको पक्षमा आवाज बुलन्द गर्ने पवित्र दिनको रुपमा मार्च ८ लाई लिने गरिएको छ।

विश्वमा महिलाका लागि अनन्त सम्भावनाहरु रहेको तर त्यसको प्राप्तिका लागि पहुँचको सवाल कमजोर बनेकाले उद्देश्यपूर्ण सहकार्यबाट महिलाको सबलिकरण सम्भव हुने महिलाको सबलिकरणको पक्षमा काम गर्दै आएका संस्थाले बताउने गरेका छन्। यो दिनलाई महिलालाई महिला भएकोमा लाज होइन गर्व गर्नु पर्छ भन्ने कुरालाई स्थापित गर्न महत्वपूर्ण भूमिका खेलेका महिलाको योगदानको कदर गर्ने दिनका रुपमा पनि लिइन्छ। अन्तर्राष्ट्रिय महिला दिवस सुरुमा सन् १९११ को मार्च १९ मा मनाइएको थियो।

पहिलो अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा भएको कार्यक्रममा १० लाख भन्दा बढी महिला तथा पुरुषले र्‍याली गरेका थिए। अन्तर्राष्ट्रिय महिला दिवसको अवधारणा अमेरिकाको सोसिअलिस्ट पार्टीले सन् १९०९ को फेब्रुअरी २८ मा घोषणा गरेको राष्ट्रिय महिला दिवसबाट प्रभावित भएको हो।

अर्को वर्ष अर्थात सन् १९१० मा विश्वभरका सोसिअलिस्ट डेनमार्कमा भेला भए र सहभागीले अन्तर्राष्ट्रिय महिला दिवसको अवधारणा पारित गरे। त्यसको अर्को वर्ष मार्च १९ मा पहिलो अन्तर्राष्ट्रिय महिला दिवस मनाइयो, त्यो बेला यसलाई कामकाजी महिलाको अन्तर्राष्ट्रिय दिवस भनिन्थ्यो।
पहिलो महिला दिवसमा डेनमार्क, जर्मनी, स्वीट्जरल्याण्ड र अस्ट्रियामा र्‍याली भएका थिए।

पहिलो अन्तर्राष्ट्रिय महिला दिवस मनाएको हप्ता दिन पनि नपुग्दै अमेरिकाको न्युयोर्क सिटीमा रहेको ट्रिएन्जल सर्टवेस्ट फ्याक्ट्रीमा आगलागी भयो। त्यसमा १४६ जनाको ज्यान गयो, ज्यान गुमाउनेमा अधिकांश त्यहाँ कार्यरत आप्रवासी महिला थिए।

प्रतिक्रिया दिनुहोस