महिलामाथि हुने शोषणाविरूद्धको संघर्षलाई अझ सशक्त बनाउनुपर्छ : नेता खनाल

सफल खबर संवाददाता

शनिबार, २४ फागुन २०८१, १२ : १२
महिलामाथि हुने शोषणाविरूद्धको संघर्षलाई अझ सशक्त बनाउनुपर्छ : नेता खनाल

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले महिलामाथि हुने अन्याय अत्याचार, विभेद र शोषण विरुद्धको संघर्षलाई अझ सशक्त बनाउनुपर्नेमा जोड दिएका छन् । 

११५औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा आज शुभकामना व्यक्त गर्दै उनले पूर्णरूपले लैङ्गिक समानता स्थापनाका निम्तिको संघर्षलाई अझ सशक्तरूपले अगाडि बढाउन जरुरी भएको बताएका छन् । 

महिलाहरूको हक र अधिकार प्राप्तिको संघर्ष रूपमा ८ मार्च २०२५ आइपुगेको बताउँदै नेता खनालले सम्पूर्ण महिला दिदीबहिनीहरूमा सुख, शान्ति, समृद्धि, तथा उत्तरोत्तर प्रगतिको हार्दिक शुभकामना व्यक्त गरेका छन् । 

उनले आफ्नो सन्देशमा भनेका छन्, “आजको दिन विश्वभरका महिला दिदीबहिनीहरूको मुक्तिको ऐतिहासिक महिलाहरूको हक र अधिकारका साथै राजनीतिक, आर्थिक, सामाजिक तथा अधिकारका निम्ति आवाज बुलन्द गरिएको संघर्षको दिन हो । महिला दिदीबहिनीका संघर्षको कारण वर्तमान विश्वमा महिलाअधिकार र समानताका निम्ति उल्लेखनीय हक अधिकारहरू प्राप्त भएका छन् ।” 

महिलाहरूले चलाउँदै आएको अनवरत संघर्षको कारणले नेपालको वर्तमान संघीय संसद्मा ३३ प्रतिशत र स्थानीय तहमा करिब ४० प्रतिशत महिलाको सहभागिता सुनिश्चित भएको उल्लेख गर्दै नेता खनालले यस महत्त्वपूर्ण राजनीतिक उपलब्धिलाई विस्तार गर्नुपर्नेमा जोड दिएका छन् ।

“महिला–पुरुष पूर्णरूपले समान भएपछि मात्र समाजवादमा पुग्न सकिनेछ”, उनले भनेका छन्, “त्यसैकारण आजको ८ मार्चको उपलक्ष्यमा सम महिला दिदीबहिनीहरूलाई आफूमाथि भइरहेका सबै प्रकारका शोषण, अन्याय, अरु विभेदका विरुद्ध लड्दै समाजवाद प्राप्तिको ऐतिहासिक लक्ष्यतिर अघि बढ्नमा जोडदार आग्रह गर्दछु ।”

 

 

 

प्रतिक्रिया दिनुहोस