काठमाडौँ । काठमाडौँ उपत्यकामा मेलम्चीको पानी आएपछि फोहरपानी व्यवस्थापन गर्न अझै चुनौतीपूर्ण हुने देखिएको छ ।
उपत्यकामा अहिले पनि फोहरपानी व्यवस्थापनमा समस्या आउने गरेकामा मेलम्चीको पानी आएपछि समस्या अझै बढ्ने देखिएको छ । बर्सेनि वर्षाको समयमा आकाशे पानी र धारामा आउने पानी गरी ठूलो परिमाणमा पानी हुँदा व्यवस्थापन गर्न नसकिँदा काठमाडौँ उपत्यकाका सडक जलमग्न हुने गरेको छ ।
ढलको निर्माण फरकफरक निकायबाट भएकाले पनि पर्याप्त समन्वय हुन नसकेको काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) ले जनाएको छ । विभिन्न निकायले ढल निर्माण गरेर पनि समस्या आउँदा लिमिटेडले नै त्यसको समाधान गर्ने गरेको लिमिटेडका प्रमुख कार्यकारी अधिकृत मिलन शाक्यले बताउनुभयो । उहाँले भन्नुभयो, “फरक निकायले ढल निर्माण गरेकाले पनि व्यवस्थापन गर्न गाह्रो छ ।”
मेलम्चीबाट पहिलो चरणमा दैनिक १७ करोड लिटर पानी आउने छ । वर्षामा पानीको परिमाण दोब्बर हुने मेलम्ची खानेपानी विकास समितिले जनाएको छ । त्यस्तै लिमिटेडले आन्तरिक स्रोतबाट नौदेखि ११ करोड लिटरसम्म पानी वितरण गर्दै आएको छ । सबै गरी पानीको परिमाण बढ्दा फोहरपानीको परिमाण बढ्नु स्वभाविक भएको गुठी संस्थाका प्राविधि सल्लाहकार प्रकाश अमात्यले बताउनुभयो ।
मेलम्चीको पानी वितरणका लागि पाइपको निर्माण गरिएपनि त्यो पानीबाट निस्कने फोहरपानी व्यवस्थापन गर्न ढल नबनेको उहाँले बताउनुभयो । फोहरपानी खोलामा पुग्नु पहिले सडकमा पानी भरिएर जलमग्न हुनसक्ने उहाँको भनाइ छ । उहाँले भन्नुभयो, “अहिलेबाट नै ढल व्यवस्थापनको तयारी नगर्ने हो भने भविष्यमा ठूलो समस्या आउनसक्छ ।”
फोहरपानी व्यवस्थापनमा प्राविधिक हिसाबले जम्मा खपत हुने पानीमध्ये ८० प्रतिशत पानी ढलमा फर्किएर जान्छ भन्ने मान्यता छ । त्यस हिसाबले पनि ढलमा चाप बढन्े देखिएको छ । उपत्यकाका ढल भरिने विभिन्न स्थानबाट चुहावट हुँदा फोहरपानी निस्कने र खोलामा पानीको परिमाण बढ्ने देखिएको छ ।
सरकारले विभिन्न स्थानमा फोहरपानी प्रशोधन केन्द्रको निर्माण गरे पनि पानी त्यहाँसम्म पुग्ने ढलको व्यवस्थापनमा ध्यान नदिएको पाइएको अमात्यले बताउनुभयो । गुहेश्वरीमा केन्द्र निर्माण सम्पन्न भइसकेको छ भने बालकुमारी, सल्लाघारी र सुन्दरीघाटमा निर्माणाधीन छन् । गुहेश्वरीमा केन्द्र निर्माण सम्पन्न भए पनि फोहरपानी त्यहाँसम्म पुग्न ढल पर्याप्त नभएको पाइएको बताउनुभयो । उहाँले भन्नुभयो, “हतारमा काम गर्दा त्यसको परिणाम के हुन्छ भन्ने सोचेर नगरेको पाइन्छ ।”
ढल निर्माण एउटै निकायबाट नभएको र निर्माण गर्ने निकायबीच समन्वय नभएको लिमिटेडका प्रमुख कार्यकारी अधिकृत शाक्यले बताउनुभयो । अहिलेसम्म कुन ठाउँमा कुन आकारको ढल आवश्यक छ भन्ने विचार नगरी ढल निर्माण भएको पाइन्छ । खानेपानी मन्त्रालय, लिमिटेड, शहरी विकास मन्त्रालय, स्थानीय तहलगायतले ढल निर्माण गरेको पाइन्छ ।
प्रतिक्रिया दिनुहोस
रासस
बुधबार, १९ फागुन २०७७, १९ : ०१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
काठमाडौं उपत्यका प्रहरी प्रमुखमा एआईजी तामाङ
दरबारमार्ग क्षेत्रमा सवारी आवागमन प्रभावित
उपत्यकाका नदीमा पानीको प्रवाह वृद्धि गर्न विज्ञसँग छलफल
काठमाडौँ उपत्यकामा बाढी, ३६ जनाभन्दा बढीको उद्धार
काठमाडौँ उपत्यकामा सवारी दुर्घटनामा १६ प्रतिशतले कमी
काठमाडौं उपत्यकामा रातिसम्म वर्षाको सम्भावना