गोरिल्लामा पनि देखियो कोरोना भाइरस

एजेन्सी

मंगलबार, २८ पुस २०७७, १० : २३
गोरिल्लामा पनि देखियो कोरोना भाइरस

काठमाडौँ । अमेरिकामा चिडियाखानामा रहेका गोरिल्लामा पनि कोरोना भाइरसको संक्रमण देखिएको छ । सान डिएगो चिडियाखानामा दुईवटा गोरिल्लामा कोरोनाभाइरसको संक्रमण देखिएको चिडियाखानाले जनाएको छ ।

चिडियाखानाका गर्भनर गामिन न्युसमले एक विज्ञप्ति जारी गर्दै चिडियाखानाका गोरिल्लामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएका हुन् । यी जनावरहरुमा अहिले कोरोनाको संक्रमण देखिएको र लक्षण नदेखिएका कर्मचारीमार्फत् उनीहरुमा संक्रमण फैलिएको हुनसक्ने न्युसमद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

चिडियाखानाका अनुसार गोरिल्लामा कोरोना भाइरस देखिएको यो पहिलो उदाहरण हो । यसअघिको अध्ययनले मानिसबाहेकका केही सीमित जनावर संक्रमणको खतरामा रहेको देखाएको थियो । गोरिल्लाहरु परिवारमा बस्ने भएकाले सबै सदस्यहरुमा संक्रमण फैलिएको हुनसक्ने चिडियाखानाका अधिकारीहरुले जनाएका छन् ।

उनीहरुका अनुसार गत बुधबारदेखि दुईवटा गोरिल्लाहरुले खोक्न थालेका थिए । त्यसपछि प्रारम्भिक परीक्षण गर्दा शुक्रबार उनीहरुमा भाइरस रहेको देखियो । सोमबार राष्ट्रिय भेटेरीनरी सेवा ल्याबोरेटेरीका लागि अमेरिकी विभागले यसको पुष्टि गरेको हो । गोरिल्लाहरुमा भाइरसले कतिसम्म असर गरेको छ भन्ने विषय अहिलेसम्म थाहा नभएको चिडियाखानाका अधिकारीहरुले बताए । 

प्रतिक्रिया दिनुहोस