काठमाडौँ महानगरमा छात्रालाई निःशुल्क स्यानिटरी प्याड

मंगलबार, २० साउन २०७७, १८ : १८
काठमाडौँ महानगरमा छात्रालाई निःशुल्क स्यानिटरी प्याड

काठमाडौँ । कक्षा–११ को अध्ययनको प्रतिक्षामा वसेकी आस्मा पोख्रेल ज्ञानोदय माध्यामिक विद्यालय, बाफलकी छात्रा हुन् । आज उक्त विद्यालयमा नेपाल सरकारको सहयोगमा सामुदायिक विद्यालयमा अध्ययन गर्ने छात्रालाई निःशुल्क स्यानिटरी प्याड वितरणको शुभारम्भ कार्यक्रम सम्पन्न भयो । कार्यक्रममा धेरै छात्रा सहभागी थिए । सहभागी मध्येकी पोख्रेल पनि एक थिइन । काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले कार्यक्रमको शुभारम्भ गर्दैगर्दा पोख्रेलको मुहारमा खुशीको भाव नाचिरहेको प्रष्ट देखिन्थ्यो ।

त्यसो त काठमाडौँ महानगरपालिका वडा नम्बर–१४ की अध्यक्ष सोभा सापकोटाले स्यानिटरी प्याड भेन्डिङ मेसिनमा सिक्का खसालेर एउटा प्याड निकाली छात्रालाई हस्तान्तरण गर्दा त्यहाँ उपस्थित सबै छात्रा र महिलाले निकैबेर ताली बजाए र खुशी साटासाट गरे  ।  कार्यक्रममा सहभागी पोख्रेललाई ‘विद्यालयमा निःशुल्क स्यानिटरी प्याड वितरणको शुभारम्भ भैरहदाँ कस्तो महशुस भएको छ रु’ भनी प्रश्न गर्दा उनले कक्षा–कक्षामा स्यानिटरी प्याड वितरण गर्ने सरकारको कार्यको खुलेर प्रसंशा गरिन् ।

‘रजस्वला हरेक महिलामा हुने नियमित प्रक्रिया हो,’ उनले भनिन्, ‘विद्यालयमा पुगेपछि मासिक स्राव हुँदा प्याडको अभावमा धेरै पटक विद्यालय नै छाडेर घर फर्किनु परेको तितो अनुभव छ । अब यो सकारात्मक प्रयासले त्यस्तो बाध्यताको अन्त्य हुने र छात्राहरुलाई सहज हुने अपेक्षा गरेका छौँ ।’ 


पोख्रेलको जस्तै अनुभव छ, सृसा रावलको पनि । ‘विद्यायमै यसरी निशुल्क प्याड वितरणको व्यवस्था हुनु सबै छात्राका लागि खुशीको कुरा हो,’ रावलले भनिन्, ‘महिनावारीकै कारण विद्यालय आउन अप्ठयारो हुने, रजस्वला हुँदा विद्यालय नै अनुपस्थित हुनुपर्ने बाध्यता थिए । अब त्यसको अन्त्य भएको छ ।’ रजस्वला हुँदा हिनताबोध महशुस गर्नुपर्ने बाध्यताको समेत अन्त्य हुने उनले अपेक्षा गरिन् ।  ‘निशुल्क प्याड वितरणपछि सबै छात्राहरुमा नियमित विद्यालय आउने र अध्ययन गर्ने परम्पराको थानली हुनेसमेत अपेक्षा गरेका छौँ,’ उनले भनिन् । 


कार्यक्रममै सहभागी खुशी जोशीले पनि विद्यालयमा निशुल्क प्याड वितरण गर्ने कुरा सकारात्मक भएको भन्दै खुशी व्यक्त गरिन् । ‘ज्ञानोदय विद्यालयमा यसरी निशुल्क स्यानिटरी प्याड वितरण गर्ने कुराले म मात्रै होइन रजस्वलाको समय भएका र रजस्वला भैरहेका सबै छात्राले खुशीको महशुस गरेका छन्,’ उनले भनिन्, ‘पहिलाको अवस्था हेर्ने हो भने रजस्वलाको समयमा शिक्षकहरुसँग खुलेर कुरा गर्न सक्ने अवस्था थिएन । अहिले ठाउँ–ठाउँमा मेसिनहरु राखिएको छ । अब रजस्वला भयो भन्दै हिनताबोधसहित शिक्षकसँग विदा माग्नु पर्ने अवस्थाको समेत अन्त्य भएको छ ।’ उनले यस्तो व्यवस्था दुर्गमका विद्यालयमा समेत हुनुपर्ने सुझाव दिइन् । 


रजस्वला भएका महिलालाई विभेद गर्नुहुन्नः मेयर शाक्य 


कार्यक्रमलाई सम्वोधन गर्दै मेयर शाक्यले रजस्वला भएका महिलालाई विभेद गर्नुनहुने बताउनुभयो । ‘हरेक घरमा महिला छन् । महिला नभएको घर हुँदैन । उनीहरुलाई हेर्ने दृष्टिकोण अनि बुझ्ने र बुझाउनेमा फरक छ,’ उहाँले उदाहरण प्रस्तुत गर्दै भन्नुभयो, ‘घरमा कोही रजस्वला हुँदा उनीहरु कमजोर हुन्छन् । त्यो बेलामा उनीहरुको हेरविचार गर्नुपर्छ, सहयोग गर्नुपर्छ भन्ने सकारात्मक पाटो हो । तर, चार दिन मेरो काम गर्ने पालो, उसले छोएको खानु हुँदैन भन्ने जस्ता विभेदपूर्ण व्यवहार पनि हुने गरेका छन् ।

यसलाई परिवर्तन गर्नुको अर्को विकल्प छैन ।’ उहाँले पहिलादेखि चलिआएको चलन हो भन्दै विकृति र विसंगतीलाई छाडिरहने हो भने पुस्तौसम्म यस्तै परम्परा रहिरहने बताउनुभयो । ‘यस्तो परम्पराको अन्त्य नगर्ने हो भने झन जरा गाडेर बस्छ र समाजलाई अघि बढ्न दिदैँन,’ उहाँले भन्नुभयो, ‘समाज परिवर्तन गर्ने हामी सबैको दायित्व हो । समाज परिवर्तनका लागि अठोट पनि चाहिन्छ ।’

उहाँले सामूदायिक विद्यालय सुधारमा ध्यान दिन समेत आग्रह गर्नुभयो ।  
विद्यालयका प्र।अ। नातिकाजी महर्जनले छात्राले रजस्वला हुँदा विगतमा धेरै कठिनाई भोग्नु परेको बताउनुभयो । उहाँले त्यही बाहनामा छात्राहरु विद्यालयमा अनुपस्थिति हुनुपर्नेसम्मका बाध्यता रहेको भन्दै अब त्यसको अन्त्य हुने बताउनुभयो । उहाँले यो चेतना जगाउने कार्यक्रम भएको पनि बताउनुभयो । 


उहाँले पहिलो चरणमा पाँचदेखि १२ कक्षासम्म अध्ययन गर्ने करीब १४ सय छात्राको रजस्वला पिरियड हुने भएकाले त्यसैलाई आधार मानेर उनीहरुलाई महिनामा करिब १६ ओटा आवश्यक पर्ने हिसावले १ लाख २० हजार प्याड टेण्डर प्रक्रियामा गएर खरिद गरेको जानकारी दिनुभयो । उहाँले भेन्डिङ मेसिन र डिस्पोजल मिसिन पनि खरिद गरेको जानकारी दिनुभयो ।   


काठमाडौँ महानगरपालिकाका शिक्षा विभागका शाखा अधिकृत मोती भट्टराईले महानरपालिका क्षेत्र भित्रका सबै सामूदायिक विद्यालयलाई प्रति छात्रा १ हजार ६ रुपैयाँका दरले बजेट निकासा गरी सबै विद्यालयमा पठाइसकेको जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस