प्रधानमन्त्रीबाट राजीनामा दिन ओलीलाई प्रचण्ड र माधव नेपालको आग्रह

सफल खबर संवाददाता

विहीबार, ०१ साउन २०७७, १४ : २४
प्रधानमन्त्रीबाट राजीनामा दिन ओलीलाई प्रचण्ड र माधव नेपालको आग्रह

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपालले अर्का अध्यक्ष केपी शर्मा ओलीलाई भेटेर प्रधानमन्त्रीबाट राजीनामा दिन आग्रह गरेका छन् ।

आज बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा उनीहरुले राजीनामा मागेका हुन् ।

यसअघिका वार्तामा ओली र प्रचण्ड मात्र बस्दै आए पनि यो पटक प्रचण्ड नेता नेपाललाई लिएर पुगेका थिए । बैठकमा महासचिव विष्णु पौडेल पनि सहभागी थिए ।

बालुवाटार जानुअघि अध्यक्ष प्रचण्डको निवास खुमलाटारमा नेकपा सचिवालय समितिका  ६ नेता (प्रचण्ड, माधवकुमार नेपाल, झलनाथ खनाल, बामदेव गौतम, नारायणकाजी श्रेष्ठ र रामबहादुर थापा बादल) को छलफलमा पनि प्रधानमन्त्रीको राजीनामा माग्ने अडान कायम राख्ने सहमति भएको बताइएको छ ।

तर ओलीले अध्यक्ष र प्रधानमन्त्री दुबै पद नछाड्ने बताएका छन् । प्रचण्ड र माधव नेपाल पक्षका नेताहरुले स्थायी कमिटीमै ओलीले प्रधानमन्त्री र अध्यक्ष दुवै पद छाड्नुपर्ने माग राखेका थिए । तर ओली त्यसमा सहमत छैनन् । बहुमतबाट निर्णय गर्दा पार्टी विभाजनसम्म हुनसक्ने भन्दै नेताहरुले बैठक स्थगित गरेर अध्यक्षद्वयलाई छलफलबाट सहमति खोज्ने जिम्मा दिएका छन् । तर सहमति जुटेको छैन ।

भोलि साउन २ गतेका लागि तय भएको स्थायी कमिटी बैठकको पूर्वसन्ध्यामा सहमति खोज्न भन्दै आज त्रिपक्षीय बैठक बसेको हो ।

प्रतिक्रिया दिनुहोस