‘कांग्रेस–एमालेबाट परिवर्तनलाई उल्ट्याउने षड्यन्त्र हुनसक्छ’

सफल खबर संवाददाता

मंगलबार, २५ असार २०८१, १६ : ०९
‘कांग्रेस–एमालेबाट परिवर्तनलाई उल्ट्याउने षड्यन्त्र हुनसक्छ’

काठमाडौँ । नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेकपाका नेताहरूले ठुलो बलिदान र त्यागबाट आएको परिवर्तनलाई उल्ट्याउने षड्यन्त्रसहित भएको कांग्रेस–एमाले गठबन्धनविरुद्ध सबै माओवादी एक भएर लड्ने उद्घोष गरेका छन् ।

संविधान संशोधन गरेर समानुपातिक र समावेशीलगायतका उपलब्धिको रक्षाका लागि जस्तोसुकै सङ्घर्षमा जान सकिने नेताहरूले चेतावनीसमेत दिएका छन् ।

मङ्गलवार काठमाडौँमा ‘सहिद निरकुमार राईको छैटौँ स्मृति दिवस’ कार्यक्रममा नेकपाका पोलिटब्युरो सदस्य माइला लामाले निरकुमार राईजस्तै हजारौँको बलिदानबाट आएको परिवर्तनलाई संस्थागत गर्नुको सट्टा त्यसलाई उल्ट्याउने चलखेल सुरु भएको आरोप लगाएका छन् ।

उनले नेकपा (माओवादी केन्द्र)तिर इङ्गित गर्दै माओवादीको एक हिस्सा संसदीय राजनीतिमा रमाएको तर आफूहरू क्रान्तिलाई निरन्तरताका लागि अगाडि बढेको बताए ।

उनले भने, ‘जनताले चाहेको र सहिदले देखेको सपनालाई बिच बाटोमै अलपत्र छाड्न सकिएन र एकीकृत जनक्रान्तिको रोडम्याप बनाएर लड्यौँ, अब यसलाई थप मजबुत बनाएर लड्ने हो ।’ 

लामाले दलाल पुँजीवादी व्यवस्थाको कारण हजारौँ युवाहरू पलायन हुन बाध्य भएको र देशलाई थप कमजोर बनाउन देउवा–ओलीको गठबन्धन भएको बताए । लामाले २०४७ सालतिर नेपालको राजनीति फर्काउन खोजिए त्यसविरुद्ध माओवादीहरू एक भएर लड्ने चेतावनी दिए । 

कार्यक्रममा वरिष्ठ अधिवक्ता एकराज भण्डारीले अस्थिरताको गोल चक्करमा फसाएर देशलाई असफल र कंगाल बनउने मुख्य दोषी संसदीय व्यवस्था भएको र त्यसको विकल्प खोज्नुपर्ने धारणा राखे । 

भण्डारीले काँग्रेस–एमालेको संविधान संशोधनको मुद्दाले माओवादी र उत्पीडित जनतालाई झस्काएको र प्रतिगमनतिर फर्कन लागेको बताउँदै सबै परिवर्तनमकारी शक्ति एक ठाउँमा आउनुपर्ने बताए ।

यस्तै, कार्यक्रममा राजनीतिक विश्लेषक नरेन्द्रजंग पीटर, सहिद निरकुमारकी जीवन संगिनी इन्द्रकला राई, घाइते योद्धा सुरेन्द्र महर्जन, सहिद कुमार पौडेलकी दिदी,सहिद निरन्तरकी जीवन संगिनी पूर्णिमा, सहिद प्रज्वल शाहीकी बहिनी मनिषालगायतको उपस्थिति रहेको थियो । 

प्रतिक्रिया दिनुहोस