प्रचण्डसामु ओलीको नयाँ प्रस्ताव :  ‘मंसिरमै महाधिवेशन गरौं’

सफल खबर संवाददाता

मंगलबार, ३० असार २०७७, १० : ५८
प्रचण्डसामु ओलीको नयाँ प्रस्ताव :  ‘मंसिरमै महाधिवेशन गरौं’

काठमाडौं । प्रधानमन्त्री केपी ओलीले पार्टीको महाधविशेन मंसिरमै गर्न पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसामु नयाँ प्रस्ताव राखेका छन् । नेकपामा अहिले दुई अध्यक्ष छन् ।  पार्टीभित्र ओलीले सरकार र पार्टी दुवै सञ्चालन गर्न नसकेको भनी राजीनामा माग भईरहेका बेला ओलीले आफ्नो संकट टार्न प्रचण्डसँग यस्तो प्रस्ताव राखेको एक स्थायी समिति सदस्यले बताए । 

‘उहाँ (प्रधानमन्त्री) ले मंसिरमै महाधिवशेन गर्ने नयाँ प्रस्ताव राख्नुभएको छ, महाधिवशेनमा सहयोग गरौंला, अहिल मलाई सहयोग गर्नुस्, भन्ने प्रस्ताव सुवास नेम्वाङ मार्फत पठाउनु भएको रहेछ,’ प्रचण्ड निकट एक स्थायी समिति सदस्यले सफलखबरसँग भने, –‘तर मंसिरमै महाधिवशेन गर्न सम्भव छैन, उहाँको आफनो सत्ता संकट टार्ने चालबाजीको प्रस्ताव हो ।’

नेकपाको गत केन्द्रीय समिति बैठकले २०७७ को चैत २५ देखि पार्टीको एकता महाधिवशेन गर्ने गरी निर्णय लिएको थियो ।  ओलीले त्यही महाधिवशेन चार महिना अगाडी सार्ने प्रस्ताव गरेर त्यही महाधिवशेनबाट आफु नेतृत्व छोडन तयार रहेको प्रस्ताव प्रचण्डसँग पु¥याएका हुन् । तर यो प्रस्ताव मंसिरमा महाधिवेशन गराउने गरी प्रचण्डसँग सहमती गरेका भने होइनन । सदस्यता अभिलेख नहुनु, सदस्यता नविकरण नहुनु , गाँउ, जिल्ला र प्रदेशहरुका अधिवशेन नहुनु जस्ता कारण अबको ५ महिनाभित्र उक्त काम सम्पन्न गर्न समय पुग्ने देखिदैन । यो प्रधानमन्त्री ओलीलाई पनि थाहा छ । 

तर ओलीले आफ्नो संकट टार्नका लागि मात्र यस्तो प्रस्ताव गरेको बुझाईमा प्रचण्ड देखिन्छन् । हुन त यही प्रस्ताव वरिष्ठ नेता माधव नेपाललाई पनि गत वैशाखमै ओलीले गरेका थिए । आफु निकट नेता शंकर पोखरेल लगायतलाई परिचालन गरेर अहिले सघाउन र मंसिरमै महाधिवेशन गरेर पार्टीको एकल अध्यक्षको जिम्मेवारी लिन नेपाललाई ओलीले प्रस्ताव गरेका थिए । 

त्यसबेला पनि नेपालले उक्त समयमा महाधिवशेन सम्भव नदेखिएको र यो आफुलाई गुमराहमा राखेर भड्काउने योजना मात्र रहेको भन्दै मानेका थिएनन् । त्यही अस्त्र अहिले ओलीले प्रचण्डलाई पनि प्रयोग गर्न खोजेका छन् । पार्टीको नवौं महाधिवेशनबाट निर्वाचत आफु अध्यक्ष रहेको, संसदीय दलबाट प्रधानमन्त्री बनेको, गत मंसिर ४ मा ओलीलाई ५ वर्ष नै सरकार सञ्चालन गर्ने सचिवालयले निर्णय गरेको र आगामी महाधिवशेनसम्म सहमतिमै काम गर्नुपर्ने भएकोले अहिले प्रधानमन्त्री र पार्टी अध्यक्ष दुवै नछोड्ने अडानमा ओली देखिएका छन् ।

त्यही कारण उनले प्रचण्डसामु मंसिरमै महाधिवशेनको प्रस्ताव गरेका हुन् । ओली निकट एक नेता भन्छन्,–‘अहिले मंसिर ४ मै भएको सहमतिको थप ब्याख्या गर्ने, आउने महाधिवशेनमा प्रचण्डलाई सहयोग गर्ने र अर्काे चुनावपछि पनि प्रधानमन्त्रीमा सघाउन सकिने भएकोले अहिले प्रचण्डले प्रधानमन्त्रीलाई सहयोग गरेर जानु पर्ने प्रस्ताव हामीले उहाँ समक्ष राखेका छौं, तर उहाँले केही बोल्नुभएको छैन । उहाँले चाहेमा मंसिरमै भएपनि महाधिवशेन गरेर जान सकिन्छ भन्ने सम्म हामीले भनेका छौं ।’

तर ओलीले यो प्रस्ताव आफनो संकट टार्न मात्र गरेको नेकपाका नेताहरु बताउँछन् ।  ‘अहिले मंसिरमै महाधिवशेन सम्भव नै देखिन्न, पार्टी केन्द्रीय समितिले घोषणा गरेको चैत २५ पछिको त ठेगान छैन, अनि कसरी मंसिरमै महाधिवशेन सम्भव छ, उहाँले यही खालको प्रस्ताव कहिले हामी कँहा कहिले माधव कमरेड कँहा, कहिले अन्यत्र कता कता लैजान थाल्नुभएको छ, यो भूलभूलैयामा राख्ने उहाँ (प्रधानमन्त्री) को चालबाजी मात्र हो,’ प्रचण्ड निकटका एक स्थायी समिति सदस्यले भने ।

नेकपाको स्थायी समिति बैठक २ साउनका लागि बोलाईएको छ । अब उक्त बैठक अगाडी नै नेकपाभित्र केही खिचडी पाकिहाल्छ की ? नेताहरु पर्खेर बसेका छन् । तर उक्त दिन सम्म पनि नेकपाले सहमतिको सूत्र फेला पार्ने सम्भावना कमै रहेको देखिन्छ । 

प्रतिक्रिया दिनुहोस