प्रचण्ड निवासमा एकाबिहानै किन पुगे ओली पक्षधर नेताहरु ?

सफल खबर संवाददाता

विहीबार, १८ असार २०७७, ०९ : ३०
प्रचण्ड निवासमा एकाबिहानै किन पुगे ओली पक्षधर नेताहरु ?

काठमाडौं । सत्तासिन दल नेकपाभित्र दुई अध्यक्षका बीचमा तिक्तता बढ्दै गएको र प्रधानमन्त्री केपी ओलीलाई पार्टी र सरकार दुबैको नेतृत्वबाट राजीनामा दिन माग उठिरहेका बेला ओली निकट स्थायी समितिका सदस्यहरु अर्का अध्यक्ष प्रचण्ड निवास खुमलटार पुगेका छन् ।

अहिले बिहान ८ वजे उनीहरु प्रचण्ड निवास पुगेका हुन् । ओली निकट नेताहरु इश्वर पोखरेल, विष्णु पौडेल, सुवास नेम्वाङ, किरण गुरुड, छविलाल विश्वकर्मा,  प्रदीप ज्ञवाली, पृथ्वीसुब्बा गुरुड,  रघुविर महासेठ, विष्णु रिमाल, शंकर पोखरेल, सत्यनारायण मण्डल  प्रचण्ड निवासमा पुगेका हुन् । आफ्नो क्याम्प छोडेर ओली क्याम्पमा लागेका लेखराज भट्ट भने यो छलफलमा सहभागी छैनन् ।

ओली निकटका यी एक दर्जन स्थायी समिति सदस्यहरु एकाबिहानै हुल बाँधेर प्रचण्ड निवास खुमलटार जानुमा प्रचण्डलाई दबाब बढाउने रणनीतिका लागि भने होइन । प्रचण्ड स्यवंले ओली पक्षका ति नेताहरुलाई खुमलटार निम्ताएका हुन् । पार्टीभित्र सिर्जित समस्या समाधानको पहलका लागि प्रचण्डले ओली पक्षका ति नेताहरुलाई छलफलका लागि आफ्नै निवासमा बोलाएका हुन् । प्रधानमन्त्री ओलीले दाहाल र नेपाल पक्षका केही सिमित नेताहरुलाई बोलाएर आफनो पक्षमा उम्भाउन प्रयास गरिरहेका वेला प्रचण्डले पनि ओली पक्षका स्थायी समितिमा रहेका सबै नेतालाई नै बोलाएर छलफल गर्न खोज्नुलाई निक्कै अर्थपूर्ण मानिएको छ ।

पार्टी अध्यक्ष प्रचण्डले हिजै खुमलटारमा छलफलका लागि तपाईहरु पनि आउनु भन्नुभएको थियो, उहाँलाई भेटौं, पार्टीभित्रको समस्या समाधानका लागि के उपाय हुनसक्छन, छलफल गरौं र सहमतिबाटै अगाडी जान सुझाव दिऔं भन्ने उदेश्यले खुमलटारमा जान लागेका हौं, खुमलटार पुग्नु अगाडी नेकपा संसदीय दलका उपनेता समेत रहेका नेता सुवास नेम्वाङले सफलखबरसँग भने ।

ओली पक्ष सकभर पार्टीमा ओलीलाई परेको संकट टार्नका लागि दुई अध्यक्ष ओली र प्रचण्डका बीचमा मिल्नुपर्ने प्रस्ताव लिएर खुमलटार पुगेका छन् । दुई अध्यक्ष मिल्नुको विकल्प छैन, त्यही मिलन विन्दुको खोजीका लागि निरन्तर तपाईहरु छलफल गर्नुहोस भन्ने सुझाव राख्न हामी जान लागेका हौं, नेम्वाङले भने ।
ओली पक्ष सकभर पार्टीभित्र ओलीको प्रधानमन्त्री र पार्टी अध्यक्ष दुवै पदबाट राजीनामा दिनुपर्ने माग लाई मत्थर बनाउने र ओलीको संकट कसरी टार्ने भन्नेमा निरन्तर छलफलमा छ । प्रचण्ड निवासको छलफलमा जानु अगाडी बुधबार साँझ केही नेताहरुले प्रधानमन्त्री ओलीसँग पनि साँझ बालुवाटारमा छलफल गरेका थिए ।

ओलीको सन्देश समेत त्यहाँ उनीहरुले प्रचण्डसँग राख्ने तयारी सहित गएका छन् । ओलीले १४ असारमा दिएको अभिव्यक्तीमा आत्मआलोचित हुने, विगतका कमीकमजोरी सच्चाएर आगामी दिनमा अगाडी बढन्, सरकारको काम पार्टीसँगको परामर्शका आधारमा गर्ने, ४ मंसिरमा दुई अध्यक्षको अधिकार बाँडफाँडको विषयलाई स्थायी समिति बैठकवाट थप परिभाषित गरेर जाने र ओलीको राजीनामा मागलाई त्यतिकै थाती राखेर विवाद समाधानको प्रस्ताव ओलीका तर्फबाट बोकेर ओली निकट नेताहरु खुमलटार पुगेका हुन् ।

ओलीले आफनो सरकार र पार्टी नेतृत्व टिकाउनका लागि अहिले जुनसकै लचकता देखाउन सक्ने सन्देश पनि आफु निकट नेताहरुमार्फत प्रचण्ड कँहा पठाएका छन् । ओलीले आफ्नो सचिवालय हेरफेर गर्ने, मनित्रमण्डल समेत हेरफेर गर्ने, प्रदेशका मन्त्रीमण्डल पनि हेरफेर गर्ने र पार्टीका नेताहरुले उठाउदै आएको एक पद, एक जिम्मेवारीको निर्णय पार्टी अध्यक्ष को हकमा बाहेक सवैमा लागु गरेर जाने विषयमा आफु तयार रहेको सन्देश आफु निकट नेताहरुमार्फत प्रचण्ड कँहा पठाएका छन् ।

तर प्रचण्ड सहित वरिष्ठ नेता झलनाथ खना, माधव नेपाल, उपाध्यक्ष वामदेव गौतम लगायत नेताहरु ओलीको कार्यशैली सुधार नहुने निश्र्कषमा पुगिसकेका छन् । सोही कारण उनीहरु जसरी पनि यही बैठकबाट ओलीलाई कुनै न कुनै दुई मध्ये एउटा जिम्मेवारीबाट भने मुक्त गराएरै छोड्ने योजनामा लागेका छन् । यही बेला दाहाल आफ्नै निम्तोमा ओली पक्षका स्थायी समितिका नेताहरुसँग आफ्नै निवासमा गरिएको छलफललाई अर्थपूर्ण रुपमा हेर्नुपर्ने राजनीतिक वृत्तमा चर्चा छ ।

यो बैठक पछि नेकपाको स्थायी समिती बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बस्नेछ । बिहान ११ बजेका लागि स्थायी समिति बैठक तय भएको छ । यो बैठक अगाडी दुई अध्यक्ष छलफलमा बसेर केही मिलन विन्दु खोज्न ओली पक्षका नेताहरुले प्रचण्ड माथी दबाब बढाउने योजना बनाएर खुमलटार पुगेको देखिएका छन् । 

प्रतिक्रिया दिनुहोस