भैरहवा । कोभिड–१९ को प्रकोपका कारण पर्यटकको आवागमन शून्य भएपछि लुम्बिनी क्षेत्रका होटलले समग्रमा २० अर्बको नोक्सानी बेहोरेका छन् । बन्दाबन्दीका कारण पाहुनाको आवागमन शून्य भएपछि प्रत्येक होटलले १५ करोडदेखि ४० करोड रुपियाँसम्म आम्दानी गुमाएको जनाइएको छ ।
व्यवसायीले पर्यटन क्षेत्र तहसनहस भएकाले राहतका लागि सरकारले उपयुक्त योजना ल्याउनुपर्ने पनि बताएका छन् । सरकारले अब होटल व्यवसायीका लागि राहतको घोषणा गर्नुपर्छ, बैङ्कको किस्ता तिर्ने समय पछाडि सार्नुपर्छ र ब्याज मिनाहा गर्नुपर्छ, लुम्बिनी होटल सङ्घका अध्यक्ष मिथुनमान श्रेष्ठले भन्नुभयो ।
खासगरी लुम्बिनी क्षेत्रका होटल तथा रिसोर्टका ग्राहक पर्यटक हुन् । कोरोनाका कारण आन्तरिक र बाह्य पर्यटकको आवागमन ठप्प भएको र होटल व्यवसाय पनि बन्द भएकाले व्यवसायीहरूले समग्रमा २० अर्ब रुपियाँको नोक्सानी बेहोरेको अध्यक्ष श्रेष्ठको भनाइ छ । लुम्बिनी होटल सङ्घका अनुसार लुम्बिनीमा सानाठूला गरी ८५ वटा होटल छन् । तिनमा सात अर्ब रुपियाँभन्दा बढी लगानी छ । यी सबै होटल अहिले बन्द छन् । अन्यत्रजस्तै लुम्बिनी क्षेत्रका होटलमा पनि बैङ्कहरूले कर्जा लगानी गरेका छन् ।
“धेरैजसो होटल बैङ्कबाट ऋण लिएर खोलिएका छन्, कारोबार नै नभएपछि बैङ्कको किस्ता कसरी तिर्ने भन्ने चिन्ताले पिरोलेको छ,” सङ्घका महासचिव हीरामणि शर्माले भन्नुभयो । होटलको अकुपेन्सी रेट शून्य अवस्थामा हुँदा पनि अहिलेसम्म होटल क्षेत्रका लागि सरकारले कुनै खालको राहतको प्याकेज नल्याएको व्यवसायीको गुनासो छ । उनीहरूले यो सङ्कटले आगामी दुई–तीन वर्षसम्म असर पर्नसक्ने बताएका छन् ।
कोरोना महामारीको प्रत्यक्ष मारमा होटलमा कार्यरत मजदुर कर्मचारी परेका छन् । अधिकांश होटलले बन्दाबन्दी भएदेखि नै कर्मचारीलाई बेतलबी बिदा दिएर घर पठाएका छन् । अब तिनको व्यवस्थापन चुनौतीपूर्ण रहेको सङ्घका अध्यक्ष श्रेष्ठको भनाइ छ । गोरखापत्र दैनिकमा खबर छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
मंगलबार, ०९ असार २०७७, ०७ : ४२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
गण्डकी र लुम्बिनी प्रदेश जोड्ने पुल निर्माण अन्तिम चरणमा
कर्णालीविरुद्ध टस जितेर बलिङ गर्दै लुम्बिनी
लुम्बिनीमा विपद्बाट पाँच करोडभन्दा धेरैको क्षति
लुम्बिनीका कांग्रेस सांसद केसी रकम भुक्तानी गरेर रिहा
लुम्बिनी प्रदेशको नयाँ मुख्यमन्त्री लीला गिरी बन्ने
लुम्बिनीका मुख्यमन्त्री महराले आइतबार विश्वासको मत लिने