काठमाडौँ । पार्टीभित्रै चर्को दबाबमा परेपछि प्रधानमन्त्री ओलीले पनि प्रतिरक्षात्मक रणनीति बनाइरहेका छन् । ओलीका लागि रणनीति बनाउन उपप्रधानमन्त्री ईश्वर पोखरेल र नेता सुवास नेम्वाङ जुटेका छन् । त्यस्तै, प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेल पनि काठमाडौं आएर भेटघाटमा सक्रिय छन् ।
मुख्यमन्त्री पोखरेलले शुक्रबार र उपप्रधानमन्त्री पोखरेल शनिबार बिहान नेता नेपालकै निवासमै पुगेर भेटेका थिए । उनीहरूले समझदारीका लागि प्रधानमन्त्रीले दुवै अध्यादेश फिर्ता गरेकाले पार्टी नेताहरूले पनि सकारात्मक प्रतिक्रिया दिनुपर्ने बताएका थिए । तर, नेपालले पार्टीलाई बेवास्ता र नेताहरूलाई अवहेलना गर्ने ओलीको शैली नै समस्या भएको भनाइ राखेका थिए । नेता नेपाल पनि संस्थागत निर्णय गर्न स्थायी समिति बैठक बोलाउनुपर्ने पक्षमा छन् ।
ओलीले अध्यक्ष वा प्रधानमन्त्रीमध्ये एक पद तुरुन्त छोड्नुपर्ने असन्तुष्टहरूको माग आएको भन्दै ओलीनिकट एक नेताले भने, ‘त्यो हास्यास्पद माग हो, कोही–कोही लागिरहेकै छन्, जे भने पनि त्यस्ताको केही औषधि हुँदैन ।’
ती नेताले प्रचण्ड–नेपालको रणनीतिप्रति टिप्पणी गर्दै भने, ‘प्रधानमन्त्रीले पटक–पटक म एउटै कक्षा दोहो¥याएर पढ्दिनँ, पार्टी र सरकारमा दुवैतिर दोहो-याउँदिनँ भन्दै आउनुभएकै छ, प्रचण्डले पनि पाँच वर्ष पूर्ण कार्यकालका लागि सहमति जनाउनुभएकै हो, दुई अध्यक्ष मिलेर जाँदा नै एकता महाधिवेशन हुने हो, यति भन्दाभन्दै पनि किन त्यस्तो तयारीमा लाग्नुभएको होला ? हामी पनि आश्चर्यमा छौँ ।’
तर, अहिले विकास भइरहेको घटनाक्रमजस्तै अध्यक्ष प्रचण्ड र वरिष्ठ नेता नेपालको गठबन्धन कायम रहे प्रधानमन्त्री ओली पार्टी र संसदीय दल दुवैतिर अल्पमतमा पर्ने अवस्था छ । बिहीबारको भैंसेपाटी बैठकपछि नौ सदस्यीय सचिवालयमा ६ नेता ओलीप्रति असन्तुष्ट छन् भन्ने प्रस्ट भएको छ । गृहमन्त्री रामबहादुर थापा ‘बादल’को भूमिका स्पष्ट भएको छैन । तर, उनले प्रचण्डलाई साथ दिए प्रधानमन्त्री ओलीको पक्षमा उपप्रधानमन्त्री ईश्वर पोखरेल मात्रै हुनेछन् ।
स्थायी समितिका २० सदस्यले बैठक माग गरेका छन् । ६ मन्त्री र ६ सचिवालय नेतासहित ३२ नेता ओलीको विपक्षमा र १२ जना मात्र ओलीको पक्षमा हुनेछन् । चार सय ४१ सदस्यीय केन्द्रीय कमिटीमा असन्तुष्ट समूहमा तीन सय १० केन्द्रीय सदस्य हुनेछन् । यसरी केन्द्रीय कमिटीमा ओलीको विपक्षमा दुईतिहाइ सदस्य हुनेछन् । त्यस्तै, एक सय ७४ सदस्यीय संसदीय दलमा पूर्वमाओवादी समूहका ५३ र नेपालनिकट करिब ४५ सांसद एकातिर उभिँदा यो गठबन्धनमा झन्डै सय सांसद पुग्ने सम्भावना छ । आजको नयाँ पत्रीकामा खबर छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
आइतबार, १४ बैशाख २०७७, ०७ : ३२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रधानमन्त्री ओलीले दिए अमेरिकी राष्ट्रपति ट्रम्पलाई बधाई
अध्यादेश कांग्रेससँगको सहमतिमै ल्याइएको हो : प्रधानमन्त्री ओली
आइटीलाई विदेशी मुद्रा आर्जन गर्ने उद्योगका रुपमा विकास गरिन्छ : प्रधानमन्त्री ओली
हस्तकला क्षेत्र सरकारको सधैँ प्राथमिकतामा रहन्छ : प्रधानमन्त्री ओली
केन्द्रीय सदस्यले बोल्ने क्रम सकिएपछि एमाले बैठकमा ओलीले जवाफ दिँदै
संसद् भंग गर्ने काम स्वीकार्य हुन सक्दैनः प्रधानमन्त्री ओली