काठमाडौं । सत्तारुढ दल नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी एकताको महत्वलाई बुझदै पार्टीलाई अझ सुढृढ गर्न अपिल गरेका छन् । नेपाल कम्युनिष्ट पार्टीको ७१ औं स्थापना दिवसको अवसरमा शुभकामना सन्देश जारी गदै अध्यक्ष प्रचण्डले पार्टी एकतापछि देशी विदेशी प्रतिक्रियावादी शक्तिहरु नेकपालाई कमजोर पार्ने प्रयत्नमा निरन्तर लागिरहेको उल्लेख गर्दै त्यस्ता प्रतिक्रियावादी षड्यन्त्रलाई परास्त गर्नु, जनमत र जनभावनाको सम्मान गर्दै समाजवादका आधार तयार गर्नु नेकपाको ऐतिहासिक कार्यभार भएको बताएका छन् ।
उनले बक्तब्यमार्फत भनेका छन्, –‘पार्टीभित्र खुला र जनवादी छलफल गरी तथ्यद्वारा सत्यको अन्वेषण गर्ने विधिमार्फत् पार्टी एकतालाई थप सुदृढ बनाउन सकिन्छ । यस दिशामा सकारात्मक र रचनात्मक योगदानका लागि पनि सम्पूर्ण नेता–कार्यकर्तालाई अपील गर्दछु ।’
दुई वर्ष अघि नेपालका प्रमुख दुई कम्युनिष्ट पार्टीवीच एकता भई नेपाल कम्युनिष्ट पार्टी (नेकपा) वनेको थियो । तर यो वीचमा नेकपाभित्र अनेक प्रकरण हरु देखा परेर पार्टीभित्र अन्तरविरोध चुलिईरहेको छ । खासगरी प्रधानमन्त्री ओलीले सरकारमा बसेर गरेका क्रियाकलाप, उनको कार्यशैली र उनले पार्टीसँग सल्लाह नै नगरी गम्भिर राजनीतिक मुद्दामा समेत एकलौटी गर्ने गरेका निर्णयका कारण नेकपाभित्र बेला बखत विवादहरु उत्र्कषमा पुग्ने गदै आईरहेको छ । पछिल्लो पटक पनि दल विभाजन सँग सम्वन्धित अत्यादेश उनले पार्टी नेताहरुसँग छलफल विनै ठाडो प्रस्तावका रुपमा क्याविनेटवाट पारित गरेर राष्टपतिमार्फत जारी गराएका थिए ।
यसले नेकपामा गम्भिर विवाद देखिएको छ । यस्तो बेला स्थापना दिवस मनाउदै गरेको नेकपाका अध्यक्ष प्रचण्डले पार्टीभित्र खुला र जनवादी छलफल गरी तथ्यद्वारा सत्यको अन्वेषण गर्ने विधिमार्फत् पार्टी एकतालाई थप सुदृढ बनाउन सकिने भन्दै त्यसतर्फ जिम्मेवार बन्न नेता कार्यकर्तालाई अपिल गरेका हुन् ।
के छ प्रचण्डको बक्तब्यमा ?
सामन्तवाद र साम्राज्यवादका विरुद्ध जनवादी क्रान्तिको पूर्णतामार्फत् समाजवाद एवं साम्यवादसम्म पुग्ने महान् लक्ष्यसहित २२ अप्रिल, १९४९ मा स्थापित नेपाल कम्युनिष्ट पार्टीले ७१ औं वसन्तमा प्रवेश गरेको छ । यस ऐतिहासिक दिनमा सशस्त्र र शान्तिपूर्ण आन्दोलनहरुमा आफ्नो जीवनको उत्सर्ग गर्नुहुने महान् सहिदहरुप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दछु । सम्पूर्ण बेपत्ता र घाइते योद्धाहरुप्रति उच्च सम्मान व्यक्त गर्दछु ।
७१ वर्ष लामो राजनीतिक संघर्षका दौरानमा कम्युनिष्ट आन्दोलनले नेपाली राजनीतिलाई गुणात्मक दिशानिर्देश मात्र गरेको छैन, अपितु विश्व कम्युनिष्ट आन्दोलनलाई नै नयाँ र मौलिक सन्देश पनि दिएको छ । कठोर संघर्षकै बलमा संघीय गणतन्त्रात्मक शासन प्रणाली, समावेशी लोकतन्त्र, समाजवादउन्मूख संविधान, सामाजिक न्याय लगायतका महत्वपूर्ण उपलब्धीहरु हासिल भएका छन् । प्राप्त उपलब्धीलाई संस्थागत गर्दै समाजवादी क्रान्तिको तयारीका लागि गरिएको ऐतिहासिक पार्टी एकताले हामीलाई लक्ष्यप्रति समर्पित हुन थप प्रेरणा र उर्जा दिएको छ । यस ऐतिहासिक अवसरमा पार्टी एकताको महत्वलाई बुझ्न र पार्टीलाई अझ सुदृढ गर्न आ–आफ्नो ठाउँमा सकारात्मक पहल गर्न म नेकपाका सम्पूर्ण नेता–कार्यकर्तालाई अपील गर्दछु ।
परन्तु, ऐतिहासिक पार्टी एकतापछि देशी विदेशी प्रतिक्रियावादी शक्तिहरु नेकपालाई कमजोर पार्ने प्रयत्नमा निरन्तर लागिरहेका छन् । प्रतिक्रियावादी षड्यन्त्रलाई परास्त गर्नु, जनमत र जनभावनाको सम्मान गर्दै समाजवादका आधार तयार गर्नु नेकपाको ऐतिहासिक कार्यभार हो । पार्टीभित्र खुला र जनवादी छलफल गरी तथ्यद्वारा सत्यको अन्वेषण गर्ने विधिमार्फत् पार्टी एकतालाई थप सुदृढ बनाउन सकिन्छ । यस दिशामा सकारात्मक र रचनात्मक योगदानका लागि पनि सम्पूर्ण नेता–कार्यकर्तालाई अपील गर्दछु ।
विश्वव्यापी महामारीका रुपमा देखिएको कोरोना भाइरस (कोभिड–१९) मानव जातिकै लागि नयाँ चुनौतीका रुपमा उभिएको छ । तसर्थ, सरकारको प्रयाससँग सहकार्य गरी विज्ञहरुले सुझाएका सुरक्षाका उपायहरुलाई दृढतापूर्वक अवलम्बन गर्दै कोभिड–१९ विरुद्ध एकतावद्व संघर्षमा होमिन नेकपाका सम्पूर्ण नेता–कार्यकर्ता, शुभेच्छुक र आम जनसमुदायमा हार्दिक अपील गर्दछु । अन्त्यमा नेकपाको ७१ औं स्थापना दिवसका सन्दर्भमा सम्पूर्ण सर्वहारा÷श्रमजीवी वर्ग र आम जनसमुदायमा फेरि एकपटक हार्दिक शुभकामना व्यक्त गर्दछु, धन्यवाद ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, १० बैशाख २०७७, ०७ : ३१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रचण्ड, माधव नेपाल र राजेन्द्र लिङदेनबिच छलफल
तेह्रथुमका दुई सहिद पार्कको उद्घाटन प्रचण्डले गर्ने
प्रचण्ड र माधवबीच भेटवार्ता
शान्ति प्रक्रिया राजनीतिक कारणले अड्कियो, सडकमा जाने तयारी गरौँ : प्रचण्ड
पूर्वउपराष्ट्रपतिलाई मैले पार्टीमा बोलाएको होइन, आफैँ आउन चाहनुभयो : प्रचण्ड
माओवादीमा भिन्न मत वा आलोचनाको स्वतन्त्रतालाई कुण्ठित गरिने छैन : प्रचण्ड