काठमाडौं । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले प्रदेश सरकारको अबको जोड कोरोना सङ्क्रमण पत्ता लगाउने परीक्षणमा केन्द्रित भएको बताउनुभएको छ ।
मुख्यमन्त्री राईले धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट दैनिक १२ र कोशी अस्पतालबाट ९६ जनाको स्वाब परीक्षण हुने गरी ल्याब सञ्चालनमा आएको जानकारी दिनु भयो । सो प्रयोगशालाको शुक्रबार निरिक्षणका क्रममा मुख्यमन्त्री राईले भन्नुभयो, “¥यापिड डाइग्नोष्टिक टेष्टको शुरुआत गरिएको छ । पहिलो चरणमा क्वारेन्टाइनमा रहेकाको परीक्षण आजबाटै शुरु भएको छ ।”
केही दिनभित्रै झण्डै छ हजार जनाको कोरोना ल्याब टेष्ट गर्न सकिने र यसलाई तीव्र्र गति दिइने मुख्यमन्त्रीको भनाइ छ । शुक्रबारसम्म १८० को ‘थ्रोट स्वाब’ सङ्कलन गरिएको छ भने १५२ जनाको रिपोर्ट नेगेटिभ देखिएको छ । उपलब्ध अत्यावश्यक स्वास्थ्य सामग्री सबै ठाउँ पठाइएको मुख्यमन्त्रीले बताउनुभएको छ ।
प्रदेश सरकारले बनाएको क्वारेन्टाइनमा ६०८ बसेका छन् भने होम क्वारेन्टाइनमा तीन हजार २९५ बसेको मुख्यमन्त्री राईका प्रेस सल्लाहकार ध्रुव सुवेदीले जानकारी दिनुभयो । प्रदेश सरकारले स्थापना गरेको प्रदेश जनसुरक्षा कोषमा रु १२ करोड ८७ लाख ६६ हजार जम्मा भएको प्रेस सल्लाहकार सुवेदीले जानकारी दिनुभयो । प्रदेश सरकारले कोभिड १९ नियन्त्रण, रोकथाम तथा उपचार कार्यमा प्रदेश सरकार वा सो मातहतका निकायले खटाएका स्वास्थ्य क्षेत्रका जनशक्तिलाई नेपाल सरकारले निर्धारण गरेबमोजिम दोहोरो नपर्ने गरी प्रोत्साहन भत्ता प्रदान गर्ने निर्णय गरिसकेको छ ।
कोरोना भाइरसको नियन्त्रण, रोकथाम तथा उपचारमा संलग्न सरकारी वा गैरसरकारी अस्पतालमा प्रदेश सरकारले खटाएका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, एम्बुलेन्स चालक, स्थानीय तहमा कार्यरत कर्मचारी वा अन्य कुनै पदाधिकारीको त्यसरी खटाएको अवस्थामा कोरोना रोगको कारणबाट मृत्यु भएमा निजको परिवारलाई प्रदेश सरकारको तर्फबाट एकमुष्ट रु ५० लाख प्रदान गर्ने निर्णय पनि भएको छ ।
प्रदेश नं १ मा सरकारले लकडाउनलाई कडाइसाथ कार्यान्वयन गर्दै हाटबजार मेला र जमघट बन्द गर्ने र राहत वितरणलाई प्रभावकारी बनाउने भएको छ । आज बसेको प्रदेश क्राइसिस म्यानेजमेन्ट सेन्टरको बैठकले लकडाउन र राहत वितरणलाई प्रभावकारी बनाउन आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मतकुमार कार्कीलाई कोरोना नियन्त्रण, रोकथाम र उपचार सम्बन्धी सुरक्षा योजना र जिम्मेवारी तोकेको छ ।
साथै कोरोना रोकथाम, नियन्त्रण र उपचारका लागि डा शङ्कर अधिकारीको संयोजकत्वमा सात सदस्यीय मेडिकल एक्सपर्ट ग्रुप समेत गठन गरेको छ । समितिको सदस्यमा पङ्कज खतिवडा, डा शैलेशमणि पोखरेल, डा सूर्य पराजुलीलगायत छन् ।
प्रतिक्रिया दिनुहोस
रासस
शुक्रबार, २८ चैत्र २०७६, २१ : ०१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कोशीमा एमालेलाई बलियो र सशक्त रुपमा उभ्याउछु : शेरधन राई