तीनमहिने अभियानले साझा मनोविज्ञान जोड्नेछ : मुख्यमन्त्री पोखरेल

रासस

आइतबार, १८ फागुन २०७६, २० : ५१
तीनमहिने अभियानले साझा मनोविज्ञान जोड्नेछ : मुख्यमन्त्री पोखरेल

फाईल फोटो

काठमाडौं । प्रदेश नं ५ का मुख्यमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रदेश इन्चार्ज शङ्कर पोखरेलले तीनमहिने अभियानले पार्टी एकताको साझा मनोविज्ञान जोड्ने बताउनुभएको छ । नेकपा बाँकेको आज नेपालगञ्जमा आयोजित बैठकमा उहाँले नेकपाले सञ्चालन गरेको तीनमहिने अभियानले पूर्वएमाले र पूर्वमाओवादी मनोविज्ञानलाई मेटाउँदै नेकपाभित्र साझा मनोविज्ञान बन्ने दाबी गर्नुभयो । 

“दुई पार्टी एकताको मनोविज्ञान जोडिन सकेको छैन । बैठक जति धेरै बस्यो त्यति मतान्तर कम हुन्छ । तीनमहिने अभियानले सम्बन्ध जोड्ने अभियानको पनि काम गर्नेछ”, मुख्यमन्त्री पोखरेलले भन्नुभयो, “दुई पार्टी जोडिएर बनेको नेकपाभित्रको आन्तरिक सम्बन्ध विस्तार र मनोविज्ञान एक भएमात्र पार्टीको जनतामाझ सम्बन्ध विस्तार हुनेछ ।” 

नेकपाको केन्द्रीय, प्रदेश, जिल्ला र स्थानीय तहसम्म पार्टी एकता भए पनि पार्टी एक बनिनसकेको उल्लेख गर्दै भन्नुभयो, “पूर्वएमाले र पूर्वमाओवादीको सदस्यता बोकेर नेकपा पार्टी बन्दैन, नेकपाको सदस्यता नराख्दासम्म कोही पनि नेकपाको कार्यकर्ता नहुने भएकाले सदस्यता नवीकरण प्रक्रियालाई अगाडि बढाइहाल्नु पर्नेछ ।”

तीनमहीने अभियानमा नेकपाका सम्पूर्ण पार्टी सदस्य संलग्न भएर परिभाषित जिम्मेवारीलाई अत्यन्त गम्भीरतापूर्वक निर्वाह गर्न आग्रह गर्दै उहाँले भन्नुभयो, “बिरामी भएर जानै नसके अलग कुरा हो अन्यथा अभियानमा नजानेलाई निकाल्नुस्, नियमित काम गर्नेलाई बढुवा गर्नुस् ।” सदस्यता धेरै देखाउने होडवाजीमा मतदाताको हैसियत पनि नराख्नेलाई सदस्यता दिँदा पार्टी बलियो नबन्ने भएकोले समाजको नेतृत्व गर्नसक्ने समाज बुझेका व्यक्तिलाई मात्रै पार्टी सदस्यता बनाउन उहाँको आग्रह थियो । 

“निर्वाचनमा जित र हार हुन्छ, हार्दा पनि पार्टी सङ्गठनको पक्षमा उभिने मात्रै पार्टी कार्यकर्ता हो, सदस्यतामा ध्यान दिन सकिएन भने बनेको पार्टी भत्किन्छ ।” उहाँले भन्नुभयो, “योग्यता प्रक्रिया नपुगेको व्यक्तिलाई सदस्यता बनाउन रोक्नुस् ।” जनप्रतिनिधिले गर्ने कामबाट जनताले पार्टीलाई चिन्ने भएकाले स्थानीय सरकारका काम प्रभावकारी बनाउन जिल्ला पार्टी नेतृत्वले आवश्यक भूमिका खेल्नुपर्नेमा जोड दिनुभयो । 

जनप्रतिनिधिका कामलाई व्यवस्थित गर्न स्थानीय तहमा संयन्त्र बनाउनसमेत उहाँले सुझाव दिनुभयो । जनताका गुनासा पार्टीबाट संयन्त्रमा ल्याएर हल गर्न सके पार्टी र स्थानीय तहमा गएका जनप्रतिनिधिबीच आपसी तालमेल र समझ्दारी सुदृढ हुने उहाँको भनाइ छ । 

बैठकमा नेकपा प्रदेश कमिटी अध्यक्ष ओनसरी घर्तीले तीनमहिने अभियानअन्तर्गत यही महिनाभित्र जिल्ला तहदेखि तल्लो तहसम्मका पार्टीका बैठक गर्न आग्रह गर्नुभयो । उहाँले पार्टीको केन्द्रीय सर्कुलर अनुसार, प्रदेश ५ का सबै जिल्लामा राजनीतिक अभियान सञ्चालन गरी वैचारिक, राजनीतिक, भावनात्मक एकता सुदृढ गर्दै सरकारका सकारात्मक कामको प्रचार गर्ने र जनसम्बन्ध विस्तार गर्नसमेत आग्रह गर्नुभयो ।