भ्रमण वर्ष सफल बनाउन तात्यो भरतपुर महानगरपालिका

पर्यटन प्रवर्द्धनका लागि शनिबार हुँदैछ नारायणगढदेखि लुम्बिनीसम्म कार र‍्याली

सूर्यप्रकाश कँडेल

बुधबार, ०७ फागुन २०७६, १५ : ३७
भ्रमण वर्ष सफल बनाउन तात्यो भरतपुर महानगरपालिका

तस्विर : सूर्यप्रकाश कँडेल

चितवन । नेपाल भ्रमण वर्ष सुरु भएको ५० दिन पुगेको छ । भ्रमण वर्षलाई सफल बनाउन भरतपुर महानगरपालिका जुर्मुराएको छ । यसै क्रममा भरतपुर महानगरभित्रका पर्यटकीय क्षेत्रको प्रवद्र्धनका लागि फागुन १० गते शनिबार नारायणगढदेखि लुम्बिनीसम्म कार र्.याली हुँदैछ ।

कार र्.यालीबारे जानकारी दिन बुधबार भरतपुर महानगरपालिकामा आयोजित पत्रकार सम्मेलनमा बोल्दै मेयर रेनु दाहालले पर्यटन प्रवर्धनका लागि कार र्.यालीको आयोजना गरिएको बताइन् । उनले भनिन्, "आयोजक भरतपुर महानगर भए पनि जिल्लाका अन्य स्थानीय तहबाट पनि सहभागिताका लागि आह्वान गरेका छौँ ।"

देशकै मध्यभागमा अवस्थित पर्यटकीय सम्भावनाहरुले भरिपूर्ण रहेको भरतपुर महानगरपालिकाले पर्यटकीय क्षेत्रको विकास र प्रवद्र्धनमा विभिन्न कामहरु गरिरहेको उनले बताइन् । विश्व सम्पदा सूचीमा रहेको चितवन राष्ट्रिय निकुञ्जसँग जोडिएको तथा नारायणी र राप्ती नदीले तीनतिरबाट घेरिएको भरतपुर महानगर नेपालकै महत्वपूण पर्यटकीय गन्तव्य भएको उनको भनाइ थियो ।

"भरतपुर महानगर प्राकृतिक, धार्मिक, साँस्कृतिक एवं ऐतिहासिक सम्पदाले भरिपूर्ण छ" उनले भनिन्, "अग्ला पहाड, वन, दुर्लभ वन्यजन्तुहरु तथा चराहरु, सिमसार क्षेत्र, पहाडी, आदिवासी र जनजातिका मौलिक परम्परा, सूर्योदय एवं सूर्यास्तको दृश्यावलोकन, तालतलैया, गढी, दरबार, संग्रहालय, पार्क, धार्मिक स्थल एवं प्राकृतिक तथा मानव निर्मित पर्यटकीय आकर्षणहरु भएको भरतपुर महानगरपालिका पूर्वाधार विकास, शिक्षा, स्वास्थ्य, उद्योग तथा कृषि क्षेत्रमा पनि उत्कृष्ट बन्ने मार्गमा अगाडि बढिरहेको छ ।"

नारायणगढमा खाजा, लुम्बिनीमा खाना

भरतपुर महानगरपालिकाको आयोजनामा हुन गइरहेको कार र्.याली नारायणी नदी किनारबाट बिहान आठ बजे सुरु हुने र्.याली संयोजक अमृत जोशीले जानकारी दिए । उनका अनुसार बिहान सात बजेदेखि नारायणी किनारमा सहभागी जम्मा भई खाजा खाएर लुम्बिनी प्रस्थान गर्ने छन् । एक बजे लुम्बिनीमा पुगेर खाना खाएपछि समापन कार्यक्रम हुनेछ । लुम्बिनीबाट दिउँसो तीन बजे नारायणगढका लागि प्रस्थान गरिने उनले बताए ।

भरतपुर महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रेमराज जोशीले कार र्.यालीका सहभागीलाई टिसर्ट र इन्धन खर्च एक हजार पाँच सय रुपैयाँ उपलब्ध गराइने जानकारी दिए । चितवन उद्योग संघका अध्यक्ष राजु पौडेलले आफूहरुले इन्धन खर्च नलिने बताए । भरतपुर महानगरपालिकाका पर्यटनविज्ञ विश्वराज सुवेदीले र्.यालीमा एक सय ५० वटा कार सहभागी हुने बताए । 

महानगरका प्रमुख सात गन्तव्य

विमानस्थल, सडक सञ्जाल, होटल र रिसोर्ट पर्याप्त मात्रामा रहेको भरतपुर महानगरपालिकाले महानगरका प्रमुख सात गन्तव्य तय गरेको छ । ती सात गन्तव्यमा मेघौली, पटिहानी, बीसहजारी ताल, देवघाटधाम, नारायणी नदी किनार, ज्ञानेश्वर ब्लक र चौकीडाँडा रहेका छन् । यीमध्ये पटिहानी र बीसहजारी ताल संघीय सरकारले घोषणा गरेका सय गन्तव्यभित्र परेका छन् । मेघौली भने बागमती प्रदेश सरकारले घोषणा गरेका उत्कृष्ट दस गन्तव्यभित्र परेको छ ।

नेपाल सरकारले घोषणा गरेको नेपाल भ्रमण वर्ष २०२० अन्तर्गत भरतपुर महानगरपालिकाले यस क्षेत्रको पर्यटन प्रवद्र्धन गर्न ३२ वटा कृयाकलाप घोषणा गरेको छ । महानगर प्रमुख रेनु दाहालले भ्रमण वर्षका कृयाकलापहरुको क्यालेण्डर निर्माण, अंग्रेजी र नेपाली भाषामा ब्रोसर निर्माण, टुर प्याकेज घोषणा, होर्डिङ बोर्ड, एरो बोर्ड, डिजिटल बोर्ड निर्माण, टीसर्ट, स्टीकर, ब्यानर लगायतका प्रचार सामग्रीको तयारी, होटल तथा रिसोर्टहरुमा छुट तथा सहुलियत घोषणा सम्पन्न भइसकेको बताइन् ।

पर्यटन प्रवद्र्धनका लागि आयोजना गरिएको कार र्.यालीले भरतपुर र लुम्बिनीबीच सम्बन्ध बिस्तारको काम समेत गर्ने बताउँदै मेयर दाहालले कार र्.यालीमा सहभागी हुन सरोकारवाला सबैमा आह्वान समेत गरिन् । नेपाल भ्रमण वर्ष सफल पार्न भविष्यमा साइकल र्याली, विभिन्न प्रतियोगिता, मेला, महोत्सव, म्याराथन लगायतका कार्यक्रम आयोजना गरिने उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस