मकवानपुरमा फिल्मी शैलीमा प्रहरीको ‘एट्याक !’

सफल खबर संवाददाता

बुधबार, १५ माघ २०७६, १७ : ११
मकवानपुरमा फिल्मी शैलीमा प्रहरीको ‘एट्याक !’

हेटौँडा । घडीमा रातको ११ः३० बजेको थियो । चुकजस्तो अँध्यारो रात चकमन्न थियो । पूर्वपश्चिम राजमार्गको हेटौँडा नगरपालिकाको मनहरि बजार सुनसानजस्तो थियो । राजमार्गमा एकदुई गाडी हुँइकिएका थिए । 

मनहरि बजारमा गाडीहरुकै भीडमा एउटा भारतीय कार देखियो । कारको नम्बर थियो बीआर ०६ जे ४४५८ । कार देखेपछि सडक किनारामा नियमित जाँचमा बसेका प्रहरी टोली कारलाई रोक्न निर्देशन दिए । कार रोकिएन । प्रहरी रोक्न आदेश दिँदै कारतर्फ अघि बढदै थिए । कार हुइँकियो । प्रहरी ट्वाल्ल पर्दै जिल्ला प्रहरी कार्यालय मकवानपुरमा खबर गरे ।

‘जाँचमा बसेका प्रहरीलाई नटेरी एउटा कार भाग्दै आएको छ’ प्रहरीले जिल्ला प्रहरी कार्यालय मकवानपुरलाई सूचना दिए ।   मनहरीबाट भाग्नेबित्तिकै प्रहरीले हेटौँडा नगरपालिकामा कारलाई रोक्ने प्रयास गरेको थियो । त्यहाँ पनि कारले बलजफ्ती प्रहरीलाई पेलौँला झैँ गरेर कार हुइँकियो । यहाँ पनि प्रहरीले कारलाई रोक्न सकेनन् । 

‘मकवानपुरबाट भागेको भारतीय कार नगरपालिकाबाट पनि भाग्न सफल भएको छ’ प्रहरीले थप प्रहरीहरुलाई सूचना दियो । भारतीय नम्बर प्लेटको कार दुई ठाउँबाट भागेपछि प्रहरीले यो सूचना सबै आफ्नो युनिटमा हावासरी फैलायो र तत्काल नियन्त्रणमा लिन आदेश दियो । कारलाई नियन्त्रणमा लिन वडा प्रहरी कार्यालयका हेटौंडाका प्रहरी निरीक्षक ईश्वरीप्रसाद भण्डारीको नेतृत्वमा ट्राफिक प्रहरीसहित बाटो छेक्न सडकमा टोली निस्कियो । यद्यपि, कारको गति घटेन ।

प्रहरीले हवाइ फायर गर्दै कारलाई रोक्न आदेश गरेको थियो, तर पनि कार बेपत्तासँग छारो उडाउँदै बत्तियो । कार अझै तीब्र गतिमा भैरबडाँडातर्फ अघि बढ्यो । प्रहरीको आदेश पालना भएन । 
प्रहरीटोली गाडी चढेर कारको पछिपछि लागे । तर पनि कार अझ तीव्र गतिमा दौडियो । कार नरोकिने संकेत पाएपछि अन्तिममा प्रहरीले कारको पछाडिको चक्कामा गोली हान्यो । बल्ल कार रोकियो । 
प्रहरीले कारलाई घेरा हाले र किन नरोकेको भन्दै जवाफ मागे । ‘बिरामी लिएर हिँडेकाले रोक्न सकिएन’ कारमा सवार एक व्यक्तिले भने । 
‘को हो बिरामी ?’ प्रहरीले सोधे । कारको अन्तिम सिटमा एक जना महिला थिइन्, बिरामी जस्तै पल्टिएकी थिइन् । उनले भनिन्, ‘म हो बिरामी ।’

प्रहरीलाई शंका लाग्यो र गाडीभित्र खानतलासी गर्न थाले । 

भेटियो ३२ किलो गाँजा 

मकवानपुरका प्रहरी प्रमुख सुशीलसिंह राठौरले कार खानतलासी गर्दा ३२ किलो गाँजा भेटिएको बताए ।  ‘कारभित्र फल्स बटम बनाएर १६ वटा पोकामा ३२ किलो लागूऔषध गाँजा लुकाएको भेटियो’ प्रमुख राठौरले भने । 

प्रहरीले कार चालक ३५ वर्षीय सञ्जित पासवान, विरामी कुरुवाको नाटक गर्ने ३५ वर्षीय अजैमल हवारी र आफूलाई बिरामी भन्ने ४५ वर्षीया जाहेरा खातुनलाई पक्राउ गर्न सफल भयो ।  उनीहरु सबै भारतको मुजफ्पुरका हुन् । 

बसको ठक्कर 
पक्राउ पर्नेहरुलाई नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय, मकवानपुरतर्फ ल्याउने क्रममा प्रहरीको ना १ झ १४१७ नम्बरको मोबाइल भ्यानलाई बसले ठक्कर दियो ।

हेटौंडा–११, राप्ती पुल छेऊ भएको घटनामा ५ जना प्रहरी घाइते भए । घाइते हुनेमा प्रहरी निरीक्षक भण्डारीसहित हवल्दार नरबहादुर राई, शुक्रराज खत्री, प्रहरी जवान समुन्द्र श्रेष्ठ र सुरेश कुमाल छन् । घटनामा गाँजा तस्करी गर्ने खातुन पनि घाइते भइन् ।

अन्य दुई जना तस्कर भने अर्को गाडीमा भएकाले दुर्घटनाबाट जोगिए ।

प्रहरी भ्यानलाई ठक्कर दिने काँकरभिट्टाबाट धनगढीका लागि छुटेको ना ५ ख ५५८२ नम्बरको बस र सवारी चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । 

प्रतिक्रिया दिनुहोस