इजरायली ‘निकासी आदेश’को असरः ६० हजार गाजाबासी विस्थापित

सफल खबर संवाददाता

शनिबार, २६ साउन २०८१, १५ : ५३
इजरायली ‘निकासी आदेश’को असरः ६० हजार गाजाबासी विस्थापित

काठमाडौं। संयुक्त राष्ट्रका मानवतावादी संस्थाले शुक्रवारको इजरायली ‘निकासी आदेश’पछि कम्तीमा ६० हजार गाजाबासी विस्थापित भई पश्चिमी खान युनुसतर्फ सरेको अनुमान गरेको छ ।

मानवीय मामिला समन्वयका लागि राष्ट्रसङ्घीय कार्यालय (ओसीएचए)ले उत्तरी र दक्षिणी गाजाको लगभग ४३ वर्ग किलोमिटर क्षेत्रमा यस हप्ता इजरायलले निकासी आदेश जारी गरेको जानकारी दिएको छ ।

ओसीएचएले गाजामा आफ्ना साझेदारद्वारा करिब २३० विस्थापनस्थल, तीन दर्जन भन्दा बढी पानी, सरसफाइ, अस्पतालसहित  स्वास्थ्य सुविधाको व्यवस्था गरेको जनाएको छ ।गाजापट्टीको ८० प्रतिशतभन्दा बढी भूभागमा गत अक्टोबरदेखि निकासी आदेश जारी गरिएको अनुमान ओसीएचएले गरेको छ ।

विपक्षीहरूबीच बढ्दो शत्रुता, सहायता अवरोध, असुरक्षालगायतका कारण गाजामा सहायता आपूर्ति चुनौतीपूर्ण बनेको कार्यालयले जनाएको छ ।

 

 

मे महिनाको शुरूदेखि रफाह क्रसिङ्ग बन्द भएपछि गाजामा सहायताको मात्रा आधाभन्दा बढी घटेको ओसीएचएले जानकारी दिएको छ । यसैगरी विगत तीन महिनामा केरेम शालोम क्रसिङबाट भित्रिने सहायतामा ८० प्रतिशत भन्दा बढीको गिरावट देखिएको छ ।

पछिल्लो समयमा मानवीय सहायताका लागि आवश्यक समन्वयको अनुरोधलाई इजरायली अधिकारीहरूले बारम्बार अस्वीकार र अवरोध गरेको ओसीएचएले जनाएको छ ।कार्यालयका अनुसार चालु महिनामा उत्तरी गाजामा जारी ६७ सहायता मिसनमध्ये २४ वटालाई मात्र इजरायली अधिकारीहरूले सहयोग गरेका थिए ।

बाँकीलाई सुरक्षा परिचालनलगायतका कारण देखाई रद्द गरेको कार्यालयले जनाएको छ ।   

 

प्रतिक्रिया दिनुहोस