गाजाको विद्यालयमा इजरायली हवाई हमला, यूएनका ६ कर्मचारीको मृत्यु

सफल खबर संवाददाता

विहीबार, २७ भदौ २०८१, १३ : १५
गाजाको विद्यालयमा इजरायली हवाई हमला, यूएनका ६ कर्मचारीको मृत्यु

रफाह । गाजामा इजरायलले गरेको हवाई हमलामा परेर संयुक्त राष्ट्र संघ (यूएन)का ६ जना कर्मचारीको मृत्यु भएको छ । मध्य गाजामा रहेको आफ्नो विद्यालयमा इजरायली हवाई आक्रमणमा छ जना कर्मचारीको मृत्यु भएको यालेस्टाइनी शरणार्थीहरूको लागि काम गर्ने यूएनको एजेन्सी यूएनआरडब्ल्यूएले भनेको छ ।

अक्टोबरमा इजरायल र हमासबीचको युद्ध सुरु भएयता एउटै घटनामा यति ठूलो संख्यामा आफ्ना कर्मचारीको मृत्यु भएको यो पहिलो पटक भएको यूएनआरडब्ल्यूएले बताएको छ ।

नुसिरात शरणार्थी शिविरमा रहेको अल–जाउनी विद्यालयमा यसअघिको आक्रमणमा कम्तीमा १४ व्यक्तिको मृत्यु भएको अस्पतालका अधिकारीहरू र हमासद्वारा सञ्चालित सिभिल डिफेन्स एजेन्सीले बताएको छ ।

यस शरणार्थी शिविरमा हजारौं विस्थापित प्यालेस्टाइनीहरूले शरण लिइरहेका छन् । इजरायली सेनाले विद्यालय भित्रबाट आक्रमण गर्ने योजना बनाएका चरमपन्थीहरूमाथि सटीक हमला गरेको भनिरहेको छ । आक्रमणका क्रममा सर्वसाधारणलाई नोक्सान नहोस् भनेर सावधानी अपनाएको दाबी उनीहरूले गरेका छन् ।

गाजा युद्ध सुरु भएदेखि गत ११ महिनामा विद्यालयमा पाँचौं पटक आक्रमण भएको युएनआरडब्ल्यूएले भनेको छ ।

प्रतिक्रिया दिनुहोस