घातक हतियार प्रयोग गरेकोमा राष्ट्रसंघीय महासचिवद्धारा सिरियाको निन्दा

बुधबार, २४ माघ २०७४, १४ : ५१
घातक हतियार प्रयोग गरेकोमा राष्ट्रसंघीय महासचिवद्धारा सिरियाको निन्दा

संयुक्त राष्ट्रसंघ । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुथ्रेसले सिरिया सरकारले विद्रोहीहरुका विरुद्ध जारी राखेको भनिएको कारबाहीका क्रममा आफ्नो देशमा घातक एवम् रासायनिक हतियार प्रयोग गरिएकोमा आपत्ति जनाउनुभएको छ ।

उहाँले यस्तो कार्य मानवीय आधारभूत अधिकारका विरुद्धको कार्य भन्दै नागरिकको बाच्न पाउने अधिकारको हनन् मात्र नभएर उनीहरुमाथि यस्तो हतियारको प्रयोग गर्नु भनेको पनि जघन्य अपराध हो भन्नुभएको छ ।

गत हप्तामात्र पनि अमेरिकाले सिरियाली सेनाले यस्ता हतियारको गरिरहेको भन्दै यदि अनुसन्धानबाट यस्तो पाइएमा सिरियामाथि युद्धअपराधमा कारबाही हुने बताएको थियो । तर यस आरोपको सिरियाको सरकारले भने खण्डन गरेको थियो ।

अमेरिकाले सिरियाली सेनाले देशको पूर्वी घटुल क्षेत्रमा विद्रोहीविरुद्धको कारबाहीका क्रममा मानवस्वास्थ्यमा अत्यन्तै नराम्रो असर पार्ने घातक रसायन मिसाइएका हातहतियार प्रयोग गरेको जनाएको थियो ।

सिरियाले त्यहाँका विद्रोही र विपक्षीहरुलाई दबाउने क्रममा यस्ता प्रकारका हतियारहरुको प्रयोग गर्ने गरेको भनी पहिलेदेखि नै अमेरिका र संयुक्त राष्ट्रसंघले अनुसन्धान र अनुगमन गर्ने गरेका छन् ।

महासचिव गुथ्रेसका प्रवक्ता फराह हकद्वारा बुधबार प्रकाशित विज्ञप्तिमा सिरियाली सरकारले सेनाले पछिल्लो समयमा जारी राखेको सिरियाली उत्तरी प्रान्त इडलिबलगायतमा यस्ता घातक हतियारको प्रयोग गरिरहेको सूचना आफूहरुलाई प्राप्त भएको जनाइएको छ ।

यदि यस्ता हातहतियारको प्रयोगको बारेमा सिरियामाथि हदैसम्मको कारबाही गरिने पनि महासचिव गुथ्रेसले जनाउनुभएको सो विज्ञप्तिमा जनाइएको छ ।

सिरियाली सरकारले गत डिसेम्बरयता यहाँको उत्तरी क्षेत्र हामा र दक्षिणी इड्लिबमा बढी आक्रमण गरेको बताइएको छ । जसका कारण यी क्षेत्रबाट मात्र साढे दुई लाखभन्दा बढी सिरियाली भागेर अन्यत्र सरेका वा विदेशिएका छन् ।

राष्ट्रसंघको शरणार्थीसम्बन्धी सहायता निकायले दक्षिणी इड्लिब र उत्तरी हामामा गत डिसेम्बर १५ यता भएको हवाई हमला र काबारहीका कारण २ लाख ७० हजारभन्दा बढी सिरियाली विस्थापित भएका छन् ।

ती क्षेत्रमा जारी कारबाहीका क्रममा अरु पनि कैयौँ नागरिक मारिएका छन् । उनीहरुमा यस्ता घातक हतियारको प्रयोग भएको पाइएको पनि अधिकारीहरुले जनाएका छन् । यद्यपि त्यस विषयमा अनुसन्धान भने जारी रहेको छ ।

सिरियामा गएको करिब सात वर्षदेखि जारी हिंसा अझै रोकिएको छैन । यहाँ गृहयुद्ध जारी छ । जसले गर्दा यहाँका तीन लाखभन्दा बढी नागरिकको ज्यान गइसकेको छ भने लाखौँ लाख नागरिक स्वदेश र विदेशमै शरणार्थीका रुपमा बाँच्नु परिरहेको अवस्था छ ।

संयुक्त राष्ट्रसंघले जनाएअनुसार देशभित्रै आन्तरिक शरणार्थीका रुपमा बसिरहेकाहरु देशको उत्तरपश्चिमी क्षेत्रबाट अन्यत्र सरेका छन् । विस्थापितमध्ये धेरैजसो परिवारहरू अस्थायी पालमा बाँचिरहेका बताइएको छ ।

उता सिरियाको सरकारी फौजले त्यहाँका विभिन्न स्थानमा विपक्षी विद्रोहीहरुका विरुद्ध हवाई आक्रमणहरू थालेपछि पछिल्लो समयमा विस्थापित हुनेहरुको सङ्ख्या झन बढेको छ ।

यस्ता हतियार प्रयोग गरिएको छैन–सिरिया
यसैबीच सिरिया सरकारले विद्रोहीहरुका विरुद्धमा आफ्नो देशमा घातक रासायनिक हतियार प्रयोग गरिएको भनी आएको समाचारको खण्डन गरेको छ ।

अमेरिकाले सिरियाली सेनाले देशको पूर्वी घटुल क्षेत्रका साथै पछिल्लो समयमा इडलिब र हामामा पनि विद्रोहीविरुद्धको कारबाहीका क्रममा मानवस्वास्थ्यमा अत्यन्तै नराम्रो असर पार्ने घातक रसायन मिसाइएका हातहतियार प्रयोग गरेको जनाएको थियो ।

सिरियाली विदेशमन्त्रालयले हालैमात्र पनि एक विज्ञप्ति प्रकाशन गरी अमेरिकाले लगाएको सो आरापको खण्डन गरेको छ र आफूहरुले यस्ता हतियारहरुको प्रयोग नगरेको स्पष्ट गरेको छ ।

सिरियाले त्यहाँका विद्रोही र विपक्षीहरुलाई दबाउने क्रममा यस्ता प्रकारका हतियारहरुको प्रयोग गर्ने गरेको भनी पहिलेदेखि नै अमेरिका र संयुक्त राष्ट्रसंघले अनुसन्धान र अनुगमन गर्ने गरेका छन् ।(रासस/सिन्ह्वा)

प्रतिक्रिया दिनुहोस