विर्तामोडको व्यापारिक भवनमा आगलागी

रासस

शनिबार, ११ साउन २०७६, २० : ५०
विर्तामोडको व्यापारिक भवनमा आगलागी

फाईल फोटो

काठमाडौं । झापाको प्रमुख व्यापारिक केन्द्र विर्तामोडस्थित हनुमान सेन्ट्रल नामक बहुतले व्यापारिक भवनमा आज साँझ ७ बजे आगलागी भएको छ ।

जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता महेन्द्रकुमार श्रेष्ठले ८ बजेसम्म आगलागी भइरहेको र नियन्त्रणको प्रयास भइरहेको जानकारी दिनुभयो । विर्तामोडको मुक्तिचोकमा रहेको पाँचतले उक्त व्यापारिक भवनमा एक रेडियो स्टेशन, दुई बैंक, दुई डिपार्टमेन्टल स्टोरसहित सयौँ व्यापारिक पसल, होटल रहेका छन् ।

भवनको चारैतिरबाट धुँवाको मुस्लो निस्किरहेको र विर्तामोड, मेचीनगर र भद्रपुरबाट आएको दमकलले आगो निभाउने कार्य गरिरहेको प्रहरी प्रवक्ता श्रेष्ठले बताउनुभयो ।

आगलागी कसरी र कुन तलाबाट भयो भनेर भन्न सकिने अवस्था नभएको र आगलागी भएको भवनभित्र फसेका सबै मानिसलाई बाहिर सुरक्षित स्थानमा ल्याउने कार्य भइसकेको उहाँले बताउनुभयो  । आगलागी नियन्त्रणमा नेपाल प्रहरी र सशस्त्र प्रहरीको ठूलो सङ्ख्या परिचालित भएको छ ।

प्रतिक्रिया दिनुहोस