दुर्घटनामा ज्यान गुमाउनेको सङ्ख्यामा कमी

शनिबार, ११ साउन २०७६, ०८ : ०४
दुर्घटनामा ज्यान गुमाउनेको सङ्ख्यामा कमी

चिप्लेढुङगा । कास्कीमा आर्थिक वर्ष २०७५/७६ मा सवारीसाधन दुर्घटनामा ज्यान गुमाउनेको सङ्ख्यामा कमी आएको छ । जिल्ला ट्राफिक कार्यालय कास्कीको तथ्याङ्कअनुसार गत आवमा सवारीसाधन दुर्घटनाबाट ३१ जनाको मृत्यु भएको थियो । आव २०७४/७५ मा सवारीसाधन दुर्घटनाबाट ४७ जनाले ज्यान गुमाएका थिए ।  

तथ्याङ्क अनुसार सडक दुर्घटना भने बढेको पाइएको छ । आव २०७५/७६ मा ८२ वटा सवारीसाधन दुर्घटना हुँदा ८० जना घाइते भएका थिए । आव २०७४/७५ मा ७९ सवारीसाधन दुर्घटनामा परी ८८ जना घाइते भएका थिए । ट्राफिक नियम उल्लङ्घन गर्ने चालकको सङ्ख्या पनि बढेको छ । आव २०७५/७६ मा नियम उल्लङ्घन गर्ने ६४ हजार २०० चालक कारवाहीमा परेका थिए । आव २०७४/७५ मा ५१ हजार ५०१ चालकलाई कारवाही गरिएको थियो । 

ट्राफिक नियमको उल्लङ्घन, कमजोर सडक संरचना र सीमित क्षेत्रमा बढ्दो सवारी चापका कारण दुर्घटना बढेको प्रहरी नायब निरीक्षक जीतजङ्ग कार्की बताउनुहुन्छ । “हामीले दुर्घटना न्यूनीकरणका लागि विद्यालय र बस्तीमा पुगेर सचेत गरिरहेका छौँ । मापसेमा पनि कडाइ गरेका छौँ”, उहाँले भन्नुभयो । दुर्घटनामा कमी ल्याउन चालक जिम्मेवार हुनुपर्ने र सडक संरचनाको स्तरोन्नति आवश्यक भएको उहाँको भनाइ छ ।  

एक वर्षको अवधिमा जथाभावी पार्किङ गरिएका दुई हजार ९०० सवारीसाधनमा ह्विल तथा चेन लक लगाइएको थियो । आव २०७५/७६ मा नियम विपरीत सवारीसाधन चलाएबापत रु चार करोड ४७ लाख ३७ हजार राजश्व सङ्कलन गरिएको छ । पर्यटकीय शहर पोखरामा बढ्दो सवारीसाधनको चापका कारण ट्राफिक व्यवस्थापन चुनौती बन्दै गएको कार्कीले बताउनुभयो । जिल्लामा ८८ ट्राफिक जनशक्ति रहेको छ । एक जना ट्राफिकले दुई हजार ४७७ सवारीसाधनलाई व्यवस्थापन गर्नुपर्ने अवस्था छ । जिल्लामा हालसम्म दर्ता भएका सवारीसाधनको सङ्ख्या दुई लाख पाँच हजारभन्दा बढी रहेको छ । –रासस

प्रतिक्रिया दिनुहोस