श्रीलङ्काका होटल र चर्चमा बिस्फोट, ४२ जनाको मृत्यु

आइतबार, ०८ बैशाख २०७६, ११ : ५३
श्रीलङ्काका होटल र चर्चमा बिस्फोट, ४२ जनाको मृत्यु

सांकेतिक तस्विर

कोलम्बो । श्रीलङ्काको राजधानी कोलम्बोका प्रतिष्ठित होटल एवं गिर्जाघर (चर्च)मा आइतबार भएका शृङ्खलाबद्ध बिस्फोटमा कम्तीमा ४२ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
बिस्फोटका कारण अरु सयौं व्यक्ति घाइते भएका छन् । पहिलो बिस्फोटन राजधानी कोलम्बोको सेन्ट एन्थोनी चर्च र राजधानी नजिकको सेन्ट सेबास्टियन चर्चमा भएका थिए ।

सेन्ट एन्थोनी बिस्फोटमा कम्तीमा १६० जना घाइते भएका र उनीहरुलाई उपचारका लागि कोलम्बो नेसनल अस्पतालमा भर्ना गरिएको छ ।

चर्चमा बिस्फोट भएलगत्तै राजधानीका तीनवटा होटलमा पनि आक्रमण भएको प्रहरीले जनाएको छ । मुलुकको पूर्वी क्षेत्र बाट्टिकोलोवा नगरको एक चर्चमा पनि बिस्फोट भएको छ ।

बाट्टिकोलोवा अस्पतालका एक अधिकारीले चर्चमा भएको बिस्फोटबाट घाइते भएका ३०० भन्दा बढी व्यक्तिलाई अस्पतालमा भर्ना गरिएको बताएका छन् । 

सामाजिक सञ्जालमा राखिएका तस्वीरहरुमा चर्चको छाना ध्वस्त भएको देखिएको छ । चर्चको भुँइ टुटेफुटेका टाइल, भाँचिएका काठपात र रगत लतपतिएको देखिएको छ । तर यी तस्वीरको प्रामाणिकता पुष्टी हुन बाँकी छ ।

बौद्धमार्गी बहुल श्रीलङ्कामा करिब ६ प्रतिशत क्याथोलिक सम्प्रदायका मानिस छन् । यो समाचार तयार पार्दासम्म उक्त घटनाको जिम्मेवारी कसैले लिएको छैन । (रासस-एएफपी) 

प्रतिक्रिया दिनुहोस