अमेरिकी राष्ट्रपति बन्ने दौडमा यी हिन्दू महिला संसद

सफल खबर संवाददाता

शनिबार, २८ पुस २०७५, १५ : ३८
अमेरिकी राष्ट्रपति बन्ने दौडमा यी हिन्दू महिला संसद

काठमाडौं । क्रिस्चियन धर्मावलम्बीको बाहुल्यता रहेको विश्वशक्ति राष्ट्र अमेरिकाको राष्ट्रपति पदका लागि पहिलो पटक हिन्दू महिला उम्मेदवार बन्ने भएकी छन् । अमेरिकाकी पहिलो हिन्दू सांसद तुलसी गेबार्डले सन् २०२० मा हुने राष्ट्रपति निर्वाचनमा उम्मेदवार बन्ने तयारी गरेकी छन् । आफू राष्ट्रपतिमा निर्वाचन लड्ने तुलसीले स्पष्ट पारेकी छन् ।

अमेरिकी संसदमा प्रतिनिधित्व गरिसकेकी तुलसीले भनिन्, ‘राष्ट्रपति पदको निर्वाचन लड्ने मैले तय गरेकी छु, आगामी हप्ता यसको आधिकारिक घोषणा हुनेछ ।’

तुलसी उम्मेदवार बन्न सक्ने विषयमा यसअघि नै अनुुमान गर्न थालिएको थियो । तुलसी अमेरिकाको इतिहासमा पहिलो पटक राजनीतिक दलको तर्फबाट हिन्दू महिला राष्ट्रपति उम्मेदवार बन्न गइरहेकी छन् । तुलसीले निर्वाचन जितेमा उनी अमेरिकाको प्रथम महिला र युवा राष्ट्रपति हुनेछिन् ।

अमेरिकाको डेमोक्रेटिक नेसनल कमिटीबाट आधिकारिक उम्मेदवार बनेपछि तुलसी औपचारिक रुपमा निर्वाचनमा होमिने छिन् । स्वास्थ्य सेवाको पहुँच, आपराधिक न्याय सुधार, जलवायु परिवर्तन लगायतका मुद्दालाई प्राथमिकतामा राखेर चुनाव लड्ने तुलसीको तयारी छ ।

‘मैले राष्ट्रपति उम्मेदवार बन्नुका पछाडि धेरै कारण छन् । अमेरिकन जनतासामु धेरै चुनौती छन्, जसको मलाई चिन्ता छ । ती चुनौती हल गर्न म मद्दत गर्न चाहन्छु,’ तुलसीले भनिन्, ‘सबैभन्दा मुख्य मुद्दा युद्ध र शान्ति हो, जुन सधै केन्द्रमा रहने गरेको छ । आधिकारिक उम्मेदवारी घोषणा भएपछि यसबारेमा म गहिराइमा पुगेर कुराकानी गर्नेछु ।’

तुलसी गेबार्डको हिन्दू भएपनि उनको जन्म अमेरिकामै भएको हो । अमेरिकाको समोआस्थित क्याथोलिक परिवारमा जन्मिएकी तुलसीकी आमाले हिन्दू धर्म अँगालेकी छन् । तुलसी दुई वर्षकी हुँदाखेरी उनकी आमा हवाई आएर बस्न थालेकी छन् । तुलसी अमेरिकाकी पहिलो हिन्दू सांसद हुन्, उनले भागवत गीता हातमा लिएर सपथ खाएकी थिइन् । तुलसी नेपाली र भारतीय मूलका अमेरिकनमाझ लोकप्रिय छिन् ।

प्रतिक्रिया दिनुहोस