छोराको व्रतबन्ध खर्चबाट यदु र सरुले बनाए अक्षयकोष

सफल खबर संवाददाता

शनिबार, २८ पुस २०७५, १३ : १०
छोराको व्रतबन्ध खर्चबाट यदु र सरुले बनाए अक्षयकोष

पोखरा । ब्रतबन्धको भोजभतेरमा हुने खर्च कटाएर एक परिवारले छोराको नाउँमा विद्यालयमा अक्षयकोष स्थापना गरेको छ । पोखरा–८, प्रतिभामार्ग बस्ने यदुनाथ अधिकारी र श्रीमती सरस्वती अधिकारी सरुले छोरा आदर्शको ब्रतबन्धको भोजमा खर्च हुने २ लाख रुपैयाँको पृथ्वीनाराण मावि, धम्पुसमा अक्षयकोष स्थापना गरेका हुन् ।

यदुनाथका बाबु कलाधर अधिकारीको स्मृतिमा विद्यालयको वार्षिकोत्सवमा युवा तथा खेलकुदमन्त्री जगतबहादुर विश्वकर्माले विद्यालयलाई शुक्रबार सो रकम हस्तान्तरण गरे ।

अक्षयकोषबाट आउने ब्याजमार्फत विद्यालयमा हुने विभिन्न क्रियाकलापमध्ये भलिबल, फुटबल, गायन, नृत्य, वक्तृत्वकलामा उत्कृष्ट र प्रतिभावान् विद्यार्थीलाई वार्षिकरुपमा पुरस्कृत गरिने अक्षयकोषदाता सरु अधिकारीले बताइन् ।

विद्यालयका पूर्व विद्यार्थी यदुनाथ युवा उद्यमी तथा व्यवसायीको रुपमा चिनिन्छन् भने सरु सामाजिक अभियन्ता हुन् । अधिकारी दम्पत्तिका ३ सन्तानमध्ये आदर्श कान्छा हुन् । उनका २ दिदी एलिसा र आयुषाका छन् ।

प्रतिक्रिया दिनुहोस