भरतपुर महानगरलाई खेलकुदको हब बनाउन सकिन्छ : मेयर दाहाल

सफल खबर संवाददाता

शनिबार, २८ पुस २०७५, १२ : २३
भरतपुर महानगरलाई खेलकुदको हब बनाउन सकिन्छ : मेयर दाहाल

भरतपुर । भरतपुर महानगर प्रमुख रेनु दाहालले भरतपुर क्षेत्रलाई खेलकुदको हब बनाउन सकिने बताउनुभएको छ । लायन्स क्लब अफ बागेश्वरीले चितवनमा पहिलो पटक गरेको मिनी म्याराथन प्रतियोगितामा प्रमुख अतिथि रहनुभएकी महानगर प्रमुख दाहालले भरतपुर मेडिकल, शिक्षा, पर्यटन सँगसँगै खेलकुदको पनि हब बन्न सक्ने बताउनुभयो । 
उहाँले भरतपुरमै अन्तर्राष्ट्रियस्तरको क्रिकेट रंगशाला बन्ने पक्का भइसकेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘चित्रवन रंगशाला निर्माणधीन अवस्थामा छ, अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको घोषणा पनि औपचारिक रुपमा छिटै हुनेछ ।’ 
कार्यक्रममा उहाँले महानगरको प्रत्येक वडामा एउटा खेलकुद मैदान निर्माणको अवधारणालाई अगाडि बढाएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘खेलकुदको प्रवद्र्धन गर्न महानगरपालिका अघि बढिरहेको छ, भरतपुरलाई खेलकुदको हब बनाउन सकिन्छ भन्ने हामीलाई लागिरहेको छ ।’
उहाँले भरतपुर महानगर समानुपातिक ढंगले अघि बढेको बताउनुभयो । कार्यक्रममा उहाँले भन्नुभयो, ‘स्वास्थ्यको लागि खेलकुद, विकासको लागि खेलकुद भएको हुनाले समृद्धिमा खेलकुदको ठूलो महत्व रहेको छ ।’ 
‘मधुमेह सचेतनाका लागि दौड’ भन्ने नाराका साथ लायन्स क्लब अफ बागिश्वरीले भरतपुरमा मिनी म्याराथन प्रतियोगिता गरेको हो । 

म्याराथनमा गोपीचन्द्र पार्की पहिलो 
लायन्स क्लब अफ बागिश्वरीले गरेको २१ किलोमिटर मिनी म्याराथन प्रतियोगितामा एपीएफ (सशस्त्र प्रहरी) का चेष्ट गार्ड नं. ६ का गोपीचन्द्र पार्की पहिलो भएका छन् । उनलाई प्रमाणपत्रसहित नगद ४० हजार रुपैयाँ महानगर प्रमुख दाहालले हस्तान्तरण गर्नुभएको छ । उनले २१ किलोमिटरको दुरी १ घण्टा ११ मिनेट ४१ सेकेन्डमा पार गरेका थिए । 
यस्तै, नेपाल आर्मीका चेष्ट गार्ड नं २ कृष्ण बस्नेत दोस्रो भएका छन् । उनले महानगर प्रमुख दाहालको हातबाट २५ हजार नगद र प्रमाणपत्र प्राप्त गरेका छन् । उनले १ घण्टा ११ मिनेट ५२ सेकेन्डमा दुरी पार गरेका थिए । 
यसैगरी आर्मीका गजेन्द्र शाह तेस्रो, आर्मीकै होमलाल श्रेष्ठ चौंथो, आर्मीकै कल्याण बानियाँ पाँचौ भएका छन् । उनीहरुलाई महानगर प्रमुख दाहालले नगदसहित पुरस्कार प्रदान गर्नुभएको थियो । तेस्रो, चौंथो र पाँचौले क्रमशः १५, ७, र ५ हजार रुपैयाँ पाएका थिए । २१ किलोमिटरको दुरी १२ जनाले ९० मिनेटमा पार गरेका थिए । प्रतियोगितामा ६७ जनाले भाग लिएका कार्यक्रम संयोजक हरिशरण श्रेष्ठले जानकारी दिनुभयो । 

विश्वका सबैभन्दा ठूलो संस्था लायन्स क्लबका जन्मदाता मेलविन जोन्सको जन्मदिनको अवसरमा गरिएको खुला मिनी म्याराथन प्रतियोगिता भरतपुर गेष्टहाउस चौरबाट सुरु भएको थियो । गेष्टहाउसबाट हाकिमचोक, धारेचोक, ओमशान्ति चोक, अशोक चोक, पाँडे घुम्ती, चोकबजार, जयनेपाल चोक, सीएमसी होस्टल, विशाल चोक, बुद्धचोक, पुनः हाकिमचोक हुँदै गेष्ट हाउस चौरमा आएर दौड प्रतियोगिता टुंगिएको थियो । 
लायन्स क्लब अफ बागिश्वरीका अध्यक्ष जीवराज अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा पूर्वअध्यक्ष पूर्णबहादुर श्रेष्ठ, पूर्वडिष्ट्रिक गभर्नर प्रभातकुमार जोशीले मन्तव्य दिनुभएको थियो । कार्यक्रमको समापन कार्यक्रम संयोजक हरिशरण श्रेष्ठले गर्नुभएको थियो । मिनी म्याराथनमा भाग लिने प्रतियोगीहरुलाई जनही १ लाख रुपैयाँको बिमाको व्यवस्था गरिएको थियो  । 


प्रतिक्रिया दिनुहोस