चितवन महोत्सव २०७५ : दर्शक तानिए मेड इन नेपाल र चिडियाघरमा

सफल खबर संवाददाता

बुधबार, २५ पुस २०७५, १७ : १३
चितवन महोत्सव २०७५ : दर्शक तानिए मेड इन नेपाल र चिडियाघरमा

चितवन । चितवन महोत्सव आजबाट सुरु भएको छ । नारायणी नदी किनारमा भएको महोत्सवमा मेड इन नेपाल र कृत्रिम चिडियारघरले सबैभन्दा बढी दर्शकको ध्यान खिचेको छ । त्यसपछि दर्शकको ध्यान खिच्नेमा अगाडि मूल गेट र माछाको आकृति रहेको छ । 
‘पहिलेको चितवन महोत्सव र अहिलेको चितवन महोत्सव फरक छ, अहिले दर्शकको ध्यान खिच्ने धेरै चीजहरु रहेका छन्’ महोत्सव मूल आयोजक समितिका संयोजक तथा उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष सहनलाल प्रधानले बताउनुभयो ।  
१२औँ चितवन महोत्सवमा मेड इन नेपालको छुट्टै परिसर रहेको छ । परिसरमा २२ वटा स्टल रहेका छन् । २२ वटै स्टलमा नेपालमै उत्पादन हुने सामग्री तथा सेवाहरु उपलव्ध भएका छन् । जसले दर्शकको ध्यान खिचिरहेको छ । 
चितवन महोत्सवको गरिमा र मेड इन नेपालको साखलाई थप उँचो बनाएको छ । मेड इन नेपाल प्रदर्शनीमा देशभरकै स्वदेशी उद्योगहरूको सहभागिता रहेको संयोजक दाताराम घिमिरेले जानकारी दिनुभयो । यसमा निर्माण सामग्री, फर्निचर, जुत्ता, गार्मेन्ट, फेसन इन्डस्ट्री, जुस, पेन्टस्जस्ता स्वदेशी उत्पादन समावेश भएका छन् । 

चितवन महोत्सव २०७५ मा यसपटक कृत्रिम चिडियाघर विशेष आकर्षणका रूपमा रहेको छ । यसले पनि दर्शकको ध्यान तानेको छ ।  चिडियाघरमा विश्वमै लोपोन्मुख प्रजातिका जीवजन्तु, चरचुरुगी तथा गोहीको कृत्रिम आकृति रहेको छ । फनपार्क तथा चिडियाघर व्यवस्थापन समिति संयोजक बोधराज शर्माले कृत्रिम चिडियाघरले दर्शकको ध्यान तानेको बताउनुभयो । कृत्रिम चिडियाघरमा करिब २० प्रजातिका जीवजन्तु राखिएका छन् । 
कृत्रिम चिडियाघरमा अवलोकनकर्ताले जनावरको हुबहु स्वरूप, जनावरको आवाज, उनीहरूको वास्तविक वासस्थान, हिँडाइ, आहारा आदि देख्न पाएका छन् । अवलोकनकर्ताले नाचिरहेका मयूर, बच्चा च्यापेर उफ्रिरहेको कंगारु, बाँसको झ्याङमा खेलिरहेका पान्डालाई हेर्दै ती जनावरबारे जानकारी लिन पाएका छन् । अघिल्ला महोत्सवहरूमा चौँरी, अस्ट्रिच ल्याइँदा हावापानी नमिलेका कारण ती जनावरको स्वास्थ्य बिग्रिने समस्या आएकाले यसपटक कृत्रिम चिडियाघर बनाइएको हो । फनपार्कलाई वातावरण र स्वास्थ्यमैत्री बनाउन मौतका कुवा र भूतघर भने हटाइएको छ । 
चितवन महोत्सवमा आकर्षक मुल गेटले पनि दर्शकको ध्यान तानेको छ । यसैगरी महोत्सव स्थलमा बालुवाको माछाले पनि दर्शक तानेको छ । १० चौडाइ र २० फिट लम्बाइ भएको माछाको आकृतिमा सेल्फी लिन दर्शकहरु भीडभाड छ । 
 

प्रतिक्रिया दिनुहोस