तोडियो सरकार र डा. गोविन्द केसीबीचको सहमति, केसी आजैदेखि १६ औं अनसन बस्ने

सफल खबर संवाददाता

बुधबार, २५ पुस २०७५, १४ : ४३
तोडियो सरकार र डा. गोविन्द केसीबीचको सहमति, केसी आजैदेखि १६ औं अनसन बस्ने

काठमाडौं । सरकार र डा. गोविन्द केसीबीच यसअघि भएको सहमति तोडिएको छ । 
बुधबार संसदको शिक्षा तथा स्वास्थ्य समितिले राष्ट्रिय चिकित्सा शिक्षा विधेयक–२०७५ बहुमतले पारित गरेसँगै सहमति तोडिएको हो ।
 
यता प्रा. डा. गोविन्द केसीले आफूसँग भएको सहमति तोडेर प्रधानमन्त्री केपी शर्मा ओलीले जनतालाई धोका दिएको आरोप लगाएका छन् । केसीले आजैदेखि अनसनमा बस्ने घोषणा गरेका छन् । उनी १६ औं अनसन बस्न प्रदेश नम्बर १ को इलाम पुगिसकेका छन् । 

सरकारले केसीको माग पूरा गर्न गत पुस १७ गतेसम्मको समय माग गरेको थियो । तर, सो समयभित्र माग पूरा नभएपछि केसीले पत्रकार सम्मेलन गर्दै आजका लागि अल्टिमेटम दिएका थिए । अल्टिमेटमभित्र विधेयक पारित भएपनि उनको अधिकांश माग पूरा नभएकाले डा.  केसीले आजैदेखि अनसन सुरु गर्न लागेका हुन् । 

आज बहुमतले पारित भएको विधेयकको पक्षमा सत्तारुढ दलका १४ जना सांसदले मत दिएका थिए भने विपक्षमा प्रतिपक्षका ४ जनाले मत दिएको समिति सभापति जयपुरी घर्तीले जनाकारी दिइन् । 
विपक्षमा गगन थापा, उमाकान्त चौधरी, मान बहादुर विक र नमिता चौधरीले फरक मत राखेका थिए । 

प्रतिक्रिया दिनुहोस