आयल निगमका पूर्व कार्यकारी निर्देशक गोपाल खड्काविरुद्ध भष्ट्राचार मुद्दा दायर

सफल खबर संवाददाता

सोमबार, २३ पुस २०७५, १९ : २९
आयल निगमका पूर्व कार्यकारी निर्देशक गोपाल खड्काविरुद्ध भष्ट्राचार मुद्दा दायर

काठमाडौं । नेपाल आयल निगमका पूर्वकार्यकारी निर्देशक गोपाल बहादुर खड्काले गैरकानुनी सम्पत्ति आर्जन गरेको भन्दै अख्तियार दुरूपयोग अनुसन्धान आयोगले उनीविरूद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
गोपालबहादुर खड्काले १८ करोड ६६ लाख पाँच हजार रूपैयाँ बराबर अकुत सम्पत्ति जोडेको दाबी सहित सोमबार अख्तियारले विशेषमा मुद्दा दायर गरेको हो ।

अख्तियारका अनुसार खड्काले गैरकानुनी रुपमा कमाएको रकम श्रीमति शर्मिला खड्का, अमिता लामा सोम्बाका नाममा लुकाएर राखेको पनि पाइएको हो ।

अख्तियारले खड्काको २०६९ चैत २ गतेदेखि हालसम्मको आम्दानी र खर्चको विश्लेषण गरेको थियो । यस अवधिमा उनले विभिन्न शीर्षकबाट ८ करोड ६४ लाख ६९ हजार ७८ सय ५१ रुपैयाँ ५३ पैसा आम्दानी गरेको र खर्च तथा लगानी भने २७ करोड ३० लाख ७५ हजार ३ सय ८० रुपैयाँ ७६ पैसा देखिएको अख्तियारको दावी छ ।

उनले गरेको खर्च तथा लगानीमा वैध आय घटाउँदा बाँकी हुन आएको रकम १८ करोड ६६ लाख ५ हजार ६ सय २९ रुपैयाँ २३ पैसा गैरकानूनी आर्जन भएको दावीसहित आरोपपत्र दायर गरिएको अख्तियारले जनाएको छ ।

अख्तियारले १८ करोड ६६ लाख ५ हजार ६ सय २९ रुपैयाँ २३ पैसा विगो कायम गरी साबिक भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १५, दफा १६९ग० तथा दफा २९ एवं प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २० को उपदफा ९२० बमोजिम सजाय गर्न माग गरेको छ ।

प्रतिक्रिया दिनुहोस