बन्दीपुरमा प्रधान सेवा समाज चितवनको निःशुल्क स्वास्थ्य शिविर

सफल खबर संवाददाता

शनिबार, १४ पुस २०७५, १६ : ०७
बन्दीपुरमा प्रधान सेवा समाज चितवनको निःशुल्क स्वास्थ्य शिविर

तनहुँ । बन्दीपुर, तनहुँबाट स्थानान्तरण भई नारायणगढ, चितवनमा स्थायी बसोबास गर्दै आइरहेको कृपाराम प्रधानका सन्ततीहरूद्वारा गठित प्रधान सेवा समाज चितवनको आयोजनामा कलेज अफ मेडिकल साइन्सेज (पुरानो मेडिकल कलेज) भरतपुरको प्राविधिक सहयोगमा आज श्री भानु माध्यमिक विद्यालय, बन्दीपुरमा निःशुल्क स्वास्थ्य परीक्षण तथा औषधि वितरण कार्यक्रम सम्पन्न भयो । 

मेडिकल सिटीको रूपमा विकास हुँदै गइरहेको चितवन र स्वास्थ्य सेवामा अलिक पछाडि रहेको बन्दीपुरबीच प्रगाढ सम्बन्ध बनाउने उद्देश्यका साथ बन्दीपुरमा रहेका प्रधान दाजुभाइहरूको बन्दीपुरमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्ने अनुरोध भए बमोजिम यस किसिमको सामाजिक कार्यक्रम गरिएको संस्थाका अध्यक्ष प्रचण्डलाल प्रधानले बताए । निःशुल्क स्वास्थ्य शिविरमा पुरानो मेडिकल कलेज, भरतपुरका विशेषज्ञ डाक्टरहरूद्वारा बन्दीपुर गाउँपालिका र व्यास नगरपालिकाबाट आएका दन्त रोग, आँखा रोग, यौन रोग, नाक कान घाँटी, छाला रोग, हाडजोर्नी, मृगौला तथा मुत्र रोग, छाती तथा पेट रोग, मुटु रोग, बालरोग, स्त्री रोगका करिब तीनसय बिरामीहरूको स्वास्थ्य जाँच गरी आवश्यक औषधिहरू निःशुल्क वितरण गरिएको संस्थाका सचिव रसिक प्रधानले बताए । शिविरमा इसिजीको समेत व्यवस्था गरिएको थियो । 

अध्यक्ष पचण्डलाल प्रधानले बन्दीपुरसँगको आत्मियता प्रगाढ रहेको र यहाँका स्थानीय बासिन्दाहरूको पूर्ण सहयोगमा यो कार्यक्रम सम्पन्न भएकोमा धन्यवाद दिनुहुँदै आगामी दिनहरूमा विकासका कार्यक्रमहरू लिएर आउने बताउनुभयो । बन्दीपुर एफ.एम. ८८.८ मेगाहर्जले प्रचार–प्रसारमा सहयोग पु¥याएको उक्त स्वास्थ्य शिविरको लागि श्री भानु माध्यमिक विद्यालयले प्राङ्गण उपलब्ध गराएको थियो । 

 

प्रतिक्रिया दिनुहोस