किशोरीहरुलाई आत्मरक्षा तालिम

सफल खबर संवाददाता

शुक्रबार, १३ पुस २०७५, १७ : २३
किशोरीहरुलाई आत्मरक्षा तालिम

चितवन । महिला हिंसाका घटनाहरु बढ्दै गएपछि राष्ट्रिय खेलकुद परिषदले महिलाहरुलाई आत्मरक्षा तालिम दिन सुरु गरेको छ । 
पहिलो चरण अन्तर्गत आगामी माघ १० गतेसम्म १९ वटा जिल्लाका महिलाहरुलाई तालिम दिन खटिएका प्रशिक्षकहरुले चितवनका किशोरीहरुलाई आत्म रक्षा तालिम दिएका छन् । विद्यालयमा अध्ययनरत किशोरी तथा महिलाहरुलाई तीन दिने प्रशिक्षणका क्रममा आज पूर्वी चितवनको रत्ननगर नगरपालिका वडा नम्बर १० मा रहेको बैरिया माविमा विभिन्न विद्यालयका एक सय भन्दा बढी किशोरीहरुलाई प्रशिक्षण दिएका छन् । ‘महिला हिंसा विरुद्ध हाम्रो संकल्प खेलकुदमा महिला सहभागिता उत्तम विकल्प’ भन्ने नारासहित आयोजना गरिएको आत्मरक्षा तालिममा राष्ट्रिय खेलकुद परिषद् आत्मरक्षा तालिमकी प्राविधिक प्रमुख राधिका हमाल र परिषद्कै कराँते प्रशिक्षक सञ्जु महर्जनले प्रशिक्षण दिँदैछन् । 

प्रशिक्षण कार्यक्रमको उद्घाटन गर्दै रत्ननगर नगरपालिका वडा नम्बर १० का अध्यक्ष केशव आचार्यले महिला तथा बालबालिकाहरु हिंसामा परिरहेकोले आत्मरक्षा तालिम समय सान्दर्भिक भएको बताए । किशोरीहरुलाई शिक्षाका साथै खेलकुद समेत आवश्यक रहेकोले आत्मरक्षा तालिमले उनीहरुको आत्मविश्वास बढ्ने आचार्यको भनाइ छ । खेलकुदको क्षेत्रमा अब्बल भएका व्यक्तिले सबै क्षेत्रमा राम्रो गर्ने उल्लेख गर्दै आचार्यले खेलकुदको क्षेत्रबाट नाम र दाम दुवै कमाउन सकिने बताए । 

प्रशिक्षणका क्रममा आत्मरक्षा तालिमकी प्राविधिक प्रमुख राधिका हमालले महिला माथी हुने हिंसाबाट जोगिनका लागि विभिन्न १० प्रकारका उपायहरु सिकाइने बताइन् । महिलाहरुमा बल भएपनि आत्मविश्वासका कमीका कारण उनीहरु हिंसाको शिकार हुनुपरेको उल्लेख गर्दै हमालले आत्मरक्षा तालिमले महिलाहरुको आत्मबल बढाउने बताइन् । 

जिल्ला खेलकुद विकास समितिका अध्यक्ष गंगालाल लामाले चीनबाट सुरु भएको मार्सल आर्ट अहिले विश्वमा प्रख्यात रहेको उल्लेख गर्दै यसको सहि सदुपयोग गर्नुपर्ने बताए । अहिले पूर्वी चितवनका केही विद्यालयमा अध्ययनरत किशोरीलाई मात्रै प्रशिक्षण दिएको भएपनि मार्सलआर्टका प्रशिक्षकहरुद्वारा चितवनका सबै विद्यालयमा अध्ययनरत विद्यार्थीलाई प्रशिक्षण दिइने लामाको भनाइ छ । कार्यक्रम अन्तर्गत शनिबार र आइतबार भरतपुर ओरालोमा रहेको होटल रोयल सेन्चुरीमा महिलाहरुका लागि आत्मरक्षा तालिम दिइने राखेपकी कराँते प्रशिक्षक सञ्जु महर्जनले जानकारी दिइन् । 

प्रतिक्रिया दिनुहोस