संघीयता र गणतन्त्र सिंहदरबारको अधिकार गाउँगाउँमा पुर्‍याउनका लागि हो : अध्यक्ष प्रचण्ड

सफल खबर संवाददाता

शुक्रबार, १३ पुस २०७५, १६ : ४८
संघीयता र गणतन्त्र सिंहदरबारको अधिकार गाउँगाउँमा पुर्‍याउनका लागि हो : अध्यक्ष प्रचण्ड

काभ्रे । पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष प्रचण्डले सिंहदरबारमा केन्द्रित भएको अधिकार गाउँ गाउँमा पुगोस् भन्ने उद्देश्यले संघीयता र गणतन्त्रको ल्याएको बताउनु भएको छ । काभ्रे जिल्लाको चौरी देउराली —२ स्थित श्री खाँडादेबी माध्यमिक विद्यालयको स्वर्ण जयन्ती समारोहलाई आज दिउँसो सम्बोधन गर्दै यस्तो बताउनु भएको हो । अध्यक्षले भन्नुभयो, ‘राज्यको शक्ति विकेन्द्रित भएर जनताको घरदैलोमा लैजान हजारौंको बलिदान भएको छ । ’

अध्यक्षले अगाडि भन्नुभयो, “तर अहिले कतिपय कानूनको अभावमा या कर्मचारी समायोजनको अन्यौलताका कारणले ढिला भएको पक्कै पनि हो ।” राष्ट्र सेवक भनिएका कर्मचारी संविधानको मर्म र भावना अनुसार र ऐन कानूनको व्यवस्था अनुसार देशको कुनै पनि भागमा सरकारले खटाए अनुसार जानुपर्ने उहाँको भनाई थियो । “यदि जान तयार नहुने हो भने राज्यले बिदा गर्दिनु पर्दछ र नयाँ कर्मचारी भर्ती गरेर भएपनि संविधान कार्यान्वयन तिर लाग्नु पर्दछ ।” उहाँले अब ऐनहरु बन्न थालेको बताउनुहुँदै संघ, प्रदेश र स्थानीय सबैतिर कर्मचारी सामायोजनको प्रक्रियाको सुरुवात हुन लागेको बताउनुभयो । 

उहाँले पार्टीको स्थायी समिति बैठकमा सर्वसम्मत निर्णय गर्दै सफलताका साथ सम्पन्न भएको बताउनुभयो । लोकतान्त्रिक वातावरणमा छलफल गरी बैठक सम्पन्न भएको बताउनुहुँदै पुस महिनाभित्र तलैसम्म पार्टी एकता गरी सक्ने स्थायी समितिको निर्णय भएको उहाँले जानकारी दिनुभयो ।

अध्यक्षले भन्नुभयो, “संविधानसभाको निर्वाचन गरेर नेपालको इतिहासका हामी गौरवशाली पुस्ता भयौं । त्यो संविधानसभाबाट संघीय लोकतान्त्रिक गणतन्त्रको घोषणा भयो । एउटा देशमा संविधानसभाको निर्वाचन एक पटक मात्र हुन्छ । हामी यसका सहभागी, साक्षी र सहयात्री बन्यौं ।

नेपाली जनताले २०१९ साल पछि यी कम्युनिष्ट भन्नेहरु मिलिदिए हुन्थ्यो भन्ने चाहाना राख्दै आएका थिए । तर अहिलेसम्म पुरा हुन नसकेको कुरा पनि तपाई हामी नै साक्षी बसेर र सक्रिय भएर हाम्रै सहभागितामा कम्युनिष्ट पार्टीको बलियो एकता कायम भयो । अहिले नेपालमा एउटा बलियो र स्थिर सरकार बनेको छ, जसले विकास र समृद्धिलाई मुख्य एजेण्डा बनाएर जाने संकल्प गरेको छ । यो पनि नेपाली इतिहासमा एक पटक हुने कुरा हाम्रै पालामा भयो ।”

प्रतिक्रिया दिनुहोस