फिटनेस संघका अध्यक्ष राजेशबाबु श्रेष्ठले स्वर्ण पदक विजेता महेश्वर महर्जनलाई तीन लाख पुरस्कार दिने

सफल खबर संवाददाता

शुक्रबार, ०६ पुस २०७५, १८ : ५७
फिटनेस संघका अध्यक्ष राजेशबाबु श्रेष्ठले स्वर्ण पदक विजेता महेश्वर महर्जनलाई तीन लाख पुरस्कार दिने

काठमाडौं । नेपाल शारीरिक सुगठन तथा फिटनेस संघका अध्यक्ष राजेशबाबु श्रेष्ठले स्वर्ण पदक विजेता महेश्वर महर्जनलाई तीन लाख पुरस्कार दिने भएका छन् । विश्व च्यापियनसिपको स्वर्ण पदक जिताउने खेलाडी महेश्वर महर्जनलाई श्रेष्ठले तीन लाख रुपैयाँ पुरस्कार घोषणा गरेका हुन् थाइल्यान्डको च्याङमाईमा सम्पन्न भएको १०औं विश्व शारिरिक सुगठन तथा फिजिक स्पोर्टस च्याम्पियनसिप अन्तर्गत ७५ केजी तौल समूहमा ३५ वर्षे महेश्वरले स्वर्ण पदक जितेका थिए ।

श्रेष्ठले फेसबुकमा स्ट्याटस लेख्दै यस्तो घोषणा गरेका हुन् । ‘हामीले अन्तर्राष्ट्रिय प्रतियोगिताहरुमा थुप्रै पदक जिते पनि नेपालमा शारीरिक सुगठन खेल कहिल्यै प्राथमिकतामा थिएन । हाम्रो देशले अन्तर्राष्ट्रिय जगतमा सधै उच्च सम्मान पाउने गरेको छ र हामीले यो खेलमार्फत् नेपाललाई प्रवर्दन गरिरहेका छौं,’ श्रेष्ठले लेखेका छन्, ‘पछिल्लो ११ वर्षदेखि अध्यक्षका रुपमा मैले यो खेलका लागि सरकारलेभन्दा बढी योगदान गरेको कुरा म गौरवका साथ भन्न चाहन्छु । एसियन च्याम्पियनसिपमात्र नभई यो वर्ष विश्व च्याम्पियनसिपमा पनि स्वर्ण पदक जित्न सफल महर्जनलाई म व्यक्तिगत रुपमा ३ लाख रुपैयाँबाट पुरस्कृत गर्ने घोषणा गर्न चाहन्छु ।’ उनले स्टयाटसमार्फत महर्जनलाई ब्रान्ड एम्बेस्डर बनाएर सहयोग गर्न समेत आफ्ना व्यवसायी साथीलाई आग्रह गरेका छन् ।

नेपाल भ्रमण वर्ष २०२० को सफलताका लागि खेलकुदलाई प्रयोग गर्न सकिने विचार महर्जनको छ । ‘थाइल्यान्डले २०१८ मा विश्व च्याम्पियनसिप गरेजस्तै खेलकुदको माध्यमबाट पर्यटन प्रवर्धनमा धेरै काम गर्न सकिन्छ । त्यसैले २०१९ को जुनमा हामीले एबिबिएफ सातौं दक्षिण एसियाली च्याम्पियनसिप आयोजना गर्न लागेको घोषणा गर्न चाहन्छु,’ उनले लेखेका छन्, ‘एउटा तटस्थ भूमिका रुमपा हामी त्यो प्रतियोगितामा दक्षिण एसियाका सबै देशको सहभागिता अपेक्षा गरिरहेका छौं । यसले नेपाल भ्रमण वर्ष २०२० को अभियानलाई पक्कै सहयोग पुग्नेछ ।’

पुरुष ७५ केजीमा १२ देशका खेलाडीलाई पछि पार्दै काठमाडौं छाउनीका महेश्वरले स्वर्ण पदक जितेका थिए । पहिलो चरणमा सहभागि १२ खेलाडीबाट शीर्ष पाँचमा भारत, सिंगापुर, आयोजक थाइल्यान्ड र उज्वेकिस्तानका खेलाडीसँगै छानिएका महेश्वरले अन्तिम चरणमा स्वर्ण पदक जित्दा भारतका खेलाडी दोस्रो तथा सिंगापुरका खेलाडी तेस्रो भएका थिए ।

महेश्वरले यसअघि भुटानमा सम्पन्न ५०औं एसियन बडिबिल्डिङ च्याम्पियनसिपमा स्वर्ण पदक जितेका थिए । उनले धर्मश्री प्रतियोगिताका स्वर्ण पदक समेत जितेर सन् २०११ मा पहिलो पटक अन्तरराष्टिय रुपमा च्याम्पियनसीमा सहभागी भएका थिए ।

प्रतिक्रिया दिनुहोस