जनकपुरधाम । मधेशको महाकुम्भ मानिने पन्ध्रदिने मिथिला माध्यमिकी परिक्रमा आज जनकपुरधाम पुनः फर्किंदै छ ।
परिक्रमा यात्रुहरू १४औं दिन हिजो भारत बिहारको विसौलमा विश्राम गरेपछि आज १५औं दिन जनकपुरधाम आउन लागेका हुन् ।
जनकपुरधाम प्रवेश गरेका तीर्थयात्रीहरू ऐतिहासिक बाह्रविघा रंगभूमि मैदान, तिरहुतिया गाछी तथा अन्य स्थानहरूमा विश्राम गर्नेछन् ।
फागुन १५ गते धनुषाको मिथिला नगरपालिका–८, कचुरीस्थित मिथिला बिहारी मन्दिरबाट सुरु भएको परिक्रमा जनकपुरमा किशोरीजीको डोला समावेश भएपछि विधिवत रूपमा प्रारम्भ भएको थियो ।
फागु पूर्णिमाको अवसरमा आज जनकपुरधाम फर्किएका तीर्थयात्रीहरूले भोलि अन्तिम दिन अन्तरगृह परिक्रमा गर्नेछन् । यो परिक्रमालाई ‘पञ्चकोशी परिक्रमा’ पनि भनिन्छ । जसमा माध्यमिकी परिक्रमामा सहभागी हुन नसकेका भक्तजनहरू पनि सामेल हुने गर्छन् । यस परिक्रममा लाखौंं श्रद्धालुहरु सहभागी हुने गर्दछन् ।
१५ दिने परिक्रमा यात्रामा धनुषाको हनुमाननगर, बिहारको कलना (कल्यानेश्वर), फुलहर (गिरिजास्थान), महोत्तरीको मठिहानी, जलेश्वर, मडैई, ध्रुवकुण्ड, कञ्चनवन, धनुषाको पर्वता, धनुषाधाम, सतोखर, औरही र पुनः भारतको करुणा, विसौल हुँदै जनकपुरधामसम्म १३३ किलोमिटरको यात्रा गरिन्छ ।
धार्मिक जनविश्वासअनुसार, मिथिला बिहारी र किशोरीजीको डोलासँगै परिक्रमा गर्दा भक्तजनहरू विभिन्न रोग, दुःख–कष्ट तथा समस्याबाट मुक्त भई मनोकामना पूर्ण हुने आस्था राख्छन् । त्यसैले धनुषा, महोत्तरी, सर्लाही, सिरहा, सप्तरीका साथै भारतको बिहार— सितामढी, मधुबनी, दरभंगा आदि स्थानहरूबाट हजारौं श्रद्धालु एवं साधु–सन्तहरू यसमा सहभागी हुने गर्छन् ।
परिक्रमा यात्रामा सहभागीहरूले खानपानका सामग्री तथा आवश्यक बन्दोबस्तीका सामानसहित यात्रा गर्छन् । परम्परागत बाजागाजा, झाँकी, कीर्तन तथा मौलिक पहिरनमा विशेषतः पाका उमेरका नर–नारीहरू सहभागी हुने गर्छन् ।
शुक्रबार परिक्रमा समापन भएसँगै पर्सी शनिबार मिथिलाञ्चलभरि होली पर्व उल्लासका साथ मनाइनेछ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २९ फागुन २०८१, ११ : ०३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
वसन्तपुरमा होलीको उल्लास(तस्बिरहरू)
रास्वपाले मनायो होली
आज होली, हिमाली तथा पहाडी जिल्लामा हर्षोल्लासका साथ मनाइँदै
होलीमा किन लगाइन्छ सेतो कपडा ?
मर्यादित रुपमा होली मनाउन उपत्यकाका ३ वटै जिल्ला प्रशासन कार्यालयको अनुरोध
वसन्तपुरमा ठड्याइयो होलीको चीर