चितवन कारागारमा बनेका घरेलु सामग्रीको व्यापार तिब्बतसम्म

सफल खबर संवाददाता

विहीबार, ०५ पुस २०७५, १० : ४३
चितवन कारागारमा बनेका घरेलु सामग्रीको व्यापार तिब्बतसम्म

चितवन । चितवनको भरतपुरमा रहेको कारागारमा कैदी बन्दीले बुनेका घरेलु सामग्री स्वदेशमा मात्र होइन, विदेशसम्म निर्यात हुन्छन् । 
यहाँका कैदी वन्दीले कारागारभित्रै हस्तकलाका घरेलु सामग्री बनाएका छन् । भरतपुरको कारागारमा बनेको हस्तकला विदेश तिब्बतसम्म पुग्ने गरेको छ । लामो समय कैद भुक्तान गरिरहेका कैदी हस्तकलाका सामग्री बनाएर आम्दानीसमेत गरेका छन् । 
कारागारभित्र कैदीले बाँसबाट बस्ने आरामदायी मुढा, डोरीहरु, झोलाहरु, टोपीहरु बनाएका छन् ।  यहाँ बनेको मुढाले स्वदेशका विभिन्न भागमा पुग्छ । यहाँको मुढालगायतका घरेलु सामग्रीले तिव्बतसम्म बजार फैलाएको छ । भरतपुर कारागारका मुढाको माग अत्यधिक रहेको कारागारभित्र काम गर्दै आएका प्रेम सुवेदीले जानकारी दिए ।  
कारागारमा बाँसको विभिन्न डिजाइनका मुढा  ३०० जनाले बुनिरहेका छन् । कति कैदी बन्दीले घरेलु सामग्री बेचेर आएको कमाइले आफ्नो घर खर्च धान्दै आएका छन् । कारागारमा घरेलु उद्योग गर्ने ३७० जना छन् ।
कारागारका प्रमुख कमलप्रसाद काफ्ले एक कैदीले दैनिक रु ५०० सम्म मुढा बुनेरै कमाउने गरेको बताउँछन् । उनका अनुुसार घरेलु सामग्री बनाएर मासिक १५ हजारसम्म कमाउँछन् । कारागारमा पाँच घरेलु सामग्रीका कम्पनीले ज्याला दिएर मुढालगायतका सामग्री बनाउन अर्डरसमेत गरेका छन् ।  कारागारमा ६६४ कैदीबन्दी छन् । 


 

प्रतिक्रिया दिनुहोस