सडकमै खाउँ, सडकमै रमाउँ भन्दै सडक महोत्सव

सफल खबर संवाददाता

बुधबार, ०४ पुस २०७५, १७ : ११
सडकमै खाउँ, सडकमै रमाउँ भन्दै सडक महोत्सव

चितवन । सडकमै खाउँ, सडकमै रमाउँ भन्दै आगामी पुष १३ देखि १७ गतेसम्म पोखराको लेकसाइडमा आयोजना गरिएको २० औँ पोखरा सडक महोत्सवको प्रचारका लागि पोखरेली व्यवसायी चितवन आएका छन् । महोत्सवको प्रचार प्रसार गर्दै देश दौडाहाका क्रममा चितवन आइपुगेको टोलीले बुधबार चितवनको सौराहामा पत्रकार सम्मेलन गर्दै नयाँ वर्षमा पोखरामा विदेशी पर्यटक भित्र्याउनका लागि महोत्सवको आयोजना गरेको जनाएको छ ।

महोत्सवका क्रममा सडक किनारमा स्वदेशी तथा विदेशी खानाका परिकार राखिने उल्लेख गर्दै महोत्सव प्रवद्र्धन समितिका संयोजक सूर्यबहादुर भुजेलले देशका सातै प्रदेशको संस्कृतिका साथै चीन, भारत र पाकिस्तानको संस्कृति समेत आकर्षणको रुपमा रहने बताए ।

रेवान पोखराको आयोजनामा हुने सडक महोत्सवको प्रवद्र्धकको रुपमा गण्डकी प्रदेश रहेको छ भने महोत्सव अवधिभरी आठ लाख भन्दा बढी स्वदेशी र विदेशी पर्यटक पोखरामा भित्र्याउने लक्ष्य रहेको भुजेलले बताए । महोत्सव परिसरमा ढिकी, जाँतो तथा गुन्द्री बुन्ने तानसहितका नेपालका लोपोन्मुख परम्परागत साधनहरु राखिने भुजेलको भनाइ छ । लेक साइडमा आयोजना गरिने सडक महोत्सव करिब तीन किलो मिटर लामो रहने उल्लेख गर्दै भुजेलले त्यहाँ सात हजार भन्दा बढी स्टलहरु हुने बताए ।

सडक महोत्सवबाट एक करोड ५० लाख रुपैयाँ आम्दानी हुने तथा एक करोड २० लाख रुपैयाँ खर्च हुने लक्ष्य रहेको रेवान पोखराका महासचिव गणेश थापाले बताए । महोत्सवमा बचत भएको पैसाको ८० प्रतिशत रकम पर्यटन प्रवद्र्धन तथा सामाजिक काममा खर्च गरिने थापाले बताए । रेवान सौराहाका अध्यक्ष गोकर्ण गिरीको अध्यक्षतामा भएको पत्रकार सम्मेलनमा रत्ननगर नगरपालिका वडा नम्बर ७ का अध्यक्ष लालबहादुर भट्ट, ल्याण्डमार्क फरेस्ट होटलका सञ्चालक ओम पाण्डेलगायतले मन्तव्य राखेका थिए ।

प्रतिक्रिया दिनुहोस