कसरामा हुर्काइएका १२ गिद्ध प्रकृतिमा छाडिने

सफल खबर संवाददाता

बुधबार, ०४ पुस २०७५, ०९ : ५०
कसरामा हुर्काइएका १२ गिद्ध प्रकृतिमा छाडिने

चितवन । चितवन राष्ट्रिय निकुञ्जको मुख्यालय कसरामा हुर्काइएका १२ गिद्धलाई प्रकृतिमा छाडिने भएको छ । १२ गिद्धलाई सुरुमा नवलपुरको पिठौलीको जटायू रेष्टुरेन्टमा राखिने र प्रकृतिमा घुलमिल हुन सक्ने भएपछि प्रकृतिमा  छाडिने चितवन राष्ट्रिय निकुञ्जले जनाएको छ । 
कसरामा हुर्काइएका १२ गिद्धलाई पिठौली लगिएको निकुञ्जका सहायक संरक्षण अधिकृत वेदबहादुर खड्काले जानकारी दिए । उनले भने, ‘पिठौली लगिएका गिद्धलाई सिनो खुवाएर प्रकृतिसँग भिज्न सक्ने भएपछि बल्ल प्रकृतिमा छोडिन्छ ।’ उनका अनुसार ती गिद्ध प्रकृतिमा छोड्नको लागि ६ महिना लाग्छ । 
गिद्ध छोड्दा रेडियो कलर जडान गरिनेछ । यसअघि निकुञ्जमा हुकाईएका १८ गिद्धलाई प्रकृतिमा छोडिसकेको निकुञ्जले जनाएको छ । यो सहित कसरामा हुर्काइएका ३० वटा गिद्ध प्रकृतिमा छोडिनेछ । 
कसराको प्रजनन् केन्द्रमा ३९ गिद्ध छन् । १३ गिद्धले अण्डा पारेर ओथारो बसिरहेको निकुञ्जको भनाइ छ । गिद्धले अण्डा पारेको ६० देखि ६५ दिनमा बच्चा कोरल्छ । सन् २००८ देखि कसरामा संरक्षण गरी गिद्ध हुर्काउन थालिएको हो । 
गिद्ध शिकारी चरा समूह अर्न्तगत पर्ने ठूला मांसहारी पंंक्षी  हो । यिनले आफै शिकार नगरी मरेका जनावरको मासु अर्थात सिनो मात्र खाँने गर्दछन् । मरेका जनावरको सिनो र फालेको मासुजन्य फोहर पदार्थलाई खाई हाम्रो वरपरको वातावरणलाई प्रदुषित, दुर्ग्न्धित र रोगमुक्त बनाउन महत्वपूर्ण भूमिका निर्वाह गर्ने गिद्धलाई ‘प्रकृतिको कुचिकार’ भनिन्छ । गिद्धहरूले विभिन्न हानीकारक किटाणुहरू भएको सडेगलेको मासु खान्छन् र त्यसलाई पचाउँछन् ।

प्रतिक्रिया दिनुहोस