राष्ट्रिय गौरवको आयोजना

गौतमबुद्ध विमानस्थल : भारतले अनुमति नदिए गौचरन बन्ने खतरा

सफल खबर संवाददाता

शुक्रबार, २१ मंसिर २०७५, १७ : ४०
गौतमबुद्ध विमानस्थल : भारतले अनुमति नदिए गौचरन बन्ने खतरा

काठमाडौं । राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको गौतम बुद्ध विमानस्थलको काम तीव्र रुपमा भइरहेको छ । यही गतिमा कामले तीव्रता पाए आगामी ६ महिनाभित्र पूर्ण रुपमा सञ्चालन हुनेछ । 
गौतमबुद्ध विमानस्थल सञ्चालन भए हाल रहेको धावनमार्गसमेत विस्थापित हुनेछ । आन्तरिक उडान तथा अवतरणसमेत नयाँ धावनमार्गबाट हुनेछ । 
यो विमानस्थाल सञ्चालन गर्न भारत सरकारको स्वीकृति लिनुपर्छ । यो विमानस्थलको अत्यन्तै नजिक नेपाल भारत सीमा रहेको छ । विमानस्थलको दक्षिण बिन्दुबाट भारतको सीमा पुग्न त्यस्तै दुई किलोमिटर मात्रै दुरी रहेको छ ।  
नेपालमा प्रवेश गर्ने हवाई बिन्दुको विषयमा पहिलो चरणमा सहमति जनाएको भारत सरकारको नागरिक उड्डयन प्राधिकरण पछि हटेको छ । भारतपुर सरकारले सञ्चालनको अनुमति नदिए गौतमबुद्ध विमानस्थल गौचरनको रुपमा रहने खतरा छ । 
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाल भ्रमणमा क्रममा गौतमबुद्ध विमानस्थलसहित विभिन्न पाँच बिन्दुबाट हवाई जहाज प्रवेश गर्न दिने भनिएपनि पछिल्लो समय सञ्चालनमा प्राधिकरणबाट  आनाकानी हुन थालेका स्रोत बताउँछ । 
स्रोतका अनुसार गौतम बुद्ध विमानस्थल सञ्चालनको लागि भारतीय कर्मचारी एवम् नागरिक उड्डयनका अधिकारी सहमत हुन सकेका छैनन् ।
उनीहरुले सैन्य उडानको क्षेत्र नै भन्दै नेपालले प्रस्ताव गरेको हवाई बिन्दुबाट जहाज प्रवेश गर्न दिने पक्षमा नभएका कारण अब पुनः विषय राजनीतिक तहमा नै पुगेको छ । 
भारतमा केही समयभित्रै आम निर्वाचन हुन लागेको छ । निर्वाचनबाट मोदी नेतृत्वको भारतीय जनता पार्टी नै विजयी होला वा नहोला त्यो उनीहरुको विषय हो । तर करिब आठ अर्ब खर्च गरेर निर्माण सम्पन्न हुन लागेको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सहजै सञ्चालनमा ल्याउन सकिएला वा नसकिएला त्यो भने गम्भीर रुपमा उठेको छ । 
सरकारले विमानस्थल निर्माणको कामलाई गति दिन हदैसम्मको प्रयास गर्दै आएको छ । लामो समय स्थानीय ठेकेदार र चिनियाँ ठेकेदारकाबीचमा रहेको विवाद समेत समाधान भएको छ । हाल युद्धस्तरमा विमानस्थल निर्माणको काम अगाडि बढिरहेको छ । हाल धावनमार्गको कालोपत्रेको काम भइरहेको छ । 
यस्तै उपकरण जडानका लागि समेत बोलपत्रको प्रक्रिया अगाडि बढेको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले तयार पारेको पछिल्लो समयसीमाअनुसार आगामी जेठ भित्र विमानस्थल पूर्ण रुपमा सञ्चालन योग्य हुनेछ । तर विमानस्थल बन्ने तर उडान र अवतरणका लागि भारतले स्वीकृति नदिने हो भने विमानस्थल गौचरन हुने शंका पनि उव्जेको छ । 
विमानस्थल निर्माणको काम सकिन लागिरहेको अवस्थामा उडान तथा अवतरणका लागि आवश्यक स्वीकृतिका लागि सरकारले कदम चालेको छैन । काठमाडौंमा रहेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको विकल्पको रुपमा सो विमानस्थलाई लिइएको छ । 
तर भारत सरकारले कथं कदाचित उडान तथा अवतरणमा सहमति नदिएको खण्डमा राज्यको ठूूलो लगानी खेर जाने अवस्था त आउँदैन भन्ने चिन्ता र चासो बढ्दै गएको छ । भारत सरकार आफैले गरेको पूर्व सहमतिबाट फिर्ता भए नेपालको लगानी डुब्ने खतरा पनि छ । 
केही समय पहिले द्विपक्षीय वार्ताका लागि भारतको राजधानी नयाँ दिल्ली पुगेका प्राधिकरणका प्राविधिकसहितका कर्मचारी वार्ता सफल नभएपछि निराश भएर फर्किएका थिए । प्रधानमन्त्रीले सहमति जनाएको विषयमा भारतीय कर्मचारीले अत्तो थापेको प्राधिकरणका कर्मचारीको भनाइ छ । उनीहरु पुनः विषय राजनीतिक तहमा नै हल हुनुपर्ने भन्दै सहमतिबाट पछाडि हटेका थिए । 
वार्तामा सहभागी एक प्राविधिक कर्मचारीका अनुसार सहमतिबाट पछाडि हट्नु भनेको गौतमबुद्ध विमानस्थल लगायतका विमानस्थल सञ्चालनमा ल्याउन समेत ठूलै पापड पेल्नुपर्ने अवस्था हो । भारतीय कर्मचारी र नागरिक उड्डयन प्राधिकरणको व्यवहार भने चित्त बुझ्दो छैन ।  
भारत सरकारले उडान तथा अवतरणको अनुमति नदिएको खण्डमा एसियाली विकास बैंकको ऋण सहयोगमा नेपाली जनताको टाउकोमा ऋण बोकाएर बनिरहेको विमानस्थल गौचरमा परिणत हुने सम्भावना बढेर गएको छ । 

प्रतिक्रिया दिनुहोस