खाना सबै जीवित प्राणीका लागि अत्यावश्यक चिज हो । त्यसमा पनि मानव जीवनमा यसको ठूलो महत्व छ । मानिसले बाँच्नकै लागि पनि खाना खाएको हुन्छ । तर, अहिलेको अत्याधुनिक अस्तव्यस्त युगमा मान्छेले खान नजान्दा विभिन्न रोगको सिकार हुनुपरेको छ । संसारमा जति मानिस भोकमरीले मरेका छन्, त्यसको दुई गुणा बढी मानिस धेर खाएर मरेका छन् ।
खुराक सन्तुलन (डाइट डिसिप्लिन)मा बसेर खानाको सदुपयोग गर्ने देशमध्ये नं. १ मा जापान आउँछ । त्यस्तै, दुरूपयोग गर्नेमा खाडी राष्ट्रहरू अगाडि आउँछन् । जापानका अधिकांश नागरिकको डाइट डिसिप्लिनकै कारणले सरदर आयु उच्च छ । साथै, बौद्धिकतामा पनि उनीहरू अगाडि छन् । नेपालमा खान नपाएर मर्नेको संख्या खास छैन । तर, कतिपय ठाउँमा भने यो अवस्था अहिले पनि छ ।
कसरी बस्ने खुराक अनुशासनमा ?
विश्वव्यापी रूपमा सामान्यतः दुईदेखि तीन सय क्यालोरीसम्मको खानालाई सन्तुलित खानाका रूपमा लिइन्छ । तसर्थ, सोहीअनुसारको रेसिपी तयार पारी क्यालोरी टेस्ट गरेर सरकारको खाद्य प्रयोगशालाबाट प्रमाणित गर्न पठाउनुपर्छ । प्रमाणित भएपछि डाइट डिसिप्लिन मिलाएर मात्र ग्राहकलाई पस्कने नियम होटेल तथा रेस्टुरेन्टले लागू गर्नुपर्छ ।
स्वस्थ रहन नियमित रूपमा व्यायाम गर्न जति जरुरी छ, त्यहीअनुसार खाना खाने ज्ञान पनि हुन आवश्यक मानिन्छ । आफ्नो उमेर, वजन, उचाइ र कामजस्ता सम्पूर्ण कुरालाई ध्यानमा राखेर खाना खानु नै डाइट डिसिप्लिनमा बस्नु हो । एकैपटक टन्न खाएर दिउँसोभर भोकै बस्नु डाइट डिसिप्लिन होइन । यसो गरेमा स्वास्थ्यमा नराम्रो असर पर्छ । नेपालीहरू ग्यास्ट्रिकले ग्रसित हुनुमा डाइट डिसिप्लिनमा नबस्दाको परिणाम हो । बिहानको खाजा तपाईंले गहकिलो हिसाबले सन्तुलन मिलाएर लिन सक्नुहुन्छ । त्यसपछि खाना (बिहानकै) केही कम मात्रामा लिँदा राम्रो हुन्छ ।
दिउँसोको खाजा पनि लाइट खालको खानु उत्तम मानिन्छ । त्यसैगरी, बेलुकाको खाना त झनै कम र सहज रूपमा पच्ने खालको हुन जरुरी छ । खानालाई अझ सन्तुलित बनाउन झोल पदार्थको आवश्यकता पर्छ । त्यसमा पानी हुन अत्यावश्यक छ । कुन खानामा कुन तत्व कति पाइन्छ भन्ने कुराको ज्ञान हुनुका साथै आफ्नो शरीरलाई स्वस्थ राख्न कतिसम्म क्यालोरी आवश्यक छ भन्नेमा पनि ख्याल गर्नुपर्ने हुन्छ । सकेसम्म चिल्लो पदार्थ कम गर्दा शरीरका लागि राम्रो हुन्छ ।
खुराक सन्तुलनका फाइदा
-सधैँ तन्दुरुस्त र फुर्तिलो भइन्छ । जसले काममा चाख जगाउँछ ।
– अनावश्यक वजन घटाउन मद्दत गर्छ ।
– क्यान्सरजस्तो घातक रोग लाग्नबाट जोगाउँछ ।
– मुटुसम्बन्धी रोगबाट जोगाउन मद्दत गर्छ ।
-आफ्नो आगामी पुस्ताका लागि फाइदा पुग्छ ।
– हड्डी र दाँत मजबुत बनाउन मद्दत पु-याउँछ ।
– काम गर्ने मुडमा पूर्ण परिवर्तन ल्याउँछ ।
-स्मरणशक्तिमा सुधार ल्याउँछ ।
– निद्रा राम्रो बनाउँछ ।
-काम गर्ने शक्तिमा वृद्धि हुन्छ ।
– दीर्घ जीवनमा सहायता पु-याउँछ ।
– तनाव कम हुनुका साथै सधैँ खुसी हुने बानी बसाउँछ ।
– पेट छरितो हुन्छ ।
-बौद्धिकतामा वृद्धि हुँदै जान्छ ।
– मधुमेह, उच्च रक्तचापजस्ता दीर्घरोग हुनबाट बचाउँछ ।
- नयाँ पत्रिकाबाट
प्रतिक्रिया दिनुहोस