सकारात्मक सोचले सकारात्मक नतिजा

शनिबार, ०१ मंसिर २०७५, १३ : ५३
सकारात्मक सोचले सकारात्मक नतिजा

सन् १९४९ मा भारतको झारखण्डस्थित धनवादमा जन्मिएका शिव खेडा मोटिभेसनल स्पिकिङ (प्रेरणादायी वाचन)का लागि संसारभर प्रख्यात छन् । युवा अवस्थामा कार धुने, बिमा एजेन्टलगायतका विभिन्न जागिर गरेका खेडा अमेरिका गएपछि प्रेरणादायी लेखक तथा प्रशिक्षकका रूपमा स्थापित भए । सन् १९९८ मा प्रकाशित उनको पहिलो पुस्तक ‘यु क्यान विन’ अत्यधिक बिक्री भएको थियो ।

यस पुस्तक जीवनमा सफलता कसरी हासिल गर्ने भन्ने विषयमा छ । २१ भाषामा प्रकाशित पुस्तक ७५ लाखभन्दा धेरै प्रति बिक्री भइसकेको छ । यसपछि ‘लिभिङ विथ अनर’, ‘फ्रिडम इज नट फ्री’, ‘यु क्यान सेल’, ‘यु क्यान अचिभ मोर’ लगायतका धेरै पुस्तकमा उनले सफलताका सूत्रहरू लेखेका छन् । सफलताबारे खेडाले दिएका कैयौँ सूत्रमध्ये केही सूत्र यहाँ प्रस्तुत गरिएको छ :

तपाईंको व्यवहार, मान्यता र दृष्टिकोण नै सफलताको कोरा कागज हो । सकारात्मक सोचेर नै हरेक कुरा हासिल गर्न सम्भव छ । तर, सकारात्मक सोचले मात्रै सफलताको ग्यारेन्टी दिँदैन । यो तपाईंको एक्सन प्लानका लागि सहायकसिद्ध हुन्छ । कहिल्यै विकल्प हुँदैन । तपाईंको सकारात्मक कदम र सकारात्मक सोचको संयोजनबाट निस्कने नतिजा सफलता हो ।

इच्छाविरुद्ध सीप
प्राविधिक सीप सफलताका लागि महत्वपूर्ण छ । सीपले नै तपाईंलाई करिअरको शिखरमा लैजान्छ । तर, सीपभन्दा धेरै भूमिका तपाईंभित्र लुकेकोे इच्छाशक्तिको हुन्छ । तपाईंसँग सीप भएर पनि सफलता हासिल गर्नका लागि इच्छाशक्ति भएन भने त्यो निरर्थक हुन्छ । यी दुईबीचको सम्बन्ध बनाएर धेरै समस्या समाधान गर्न सकिन्छ । मानिसको सीपमा कमी भयो भने उनीहरूले सफलताको स्वाद चाख्न पाउँदैनन् । त्यसैले सीप बढाउनका लागि इच्छाशक्ति चाहिन्छ । सबै मानिस सफल हुन चाहन्छन् । तर, कमैले मात्र सफलताको तयारीका लागि मूल्य तिर्ने इच्छा देखाउँछन् ।

बिक्री
सफलता तपाईंले आफूलाई कसरी बिकाउन सक्नुहुन्छ भन्ने क्षमतामा पनि भर पर्छ । इमानदारिता र विनम्रता यसका लागि महत्वपूर्ण हतियार हुन् । र, यो रणनीति होइन, बरु जीवनको महत्वपूर्ण मान्यता हो । हामीले गरेका वाचा र हामीभित्रको प्रतिबद्धताबीचको फरक बुझेर मात्रै हामी सफल हुन सक्छौँ ।

चरित्र
हामीमध्ये धेरैलाई नकारात्मक सोच्ने बानी परिसकेको छ । हामी जस्तो छौँ, त्यस्तै देखिन्छौँ । त्यसैले राम्रो बानीको विकास गरौँ । राम्रो व्यवहार गरौँ । आफ्नो इमान र प्रतिष्ठालाई महत्व दिऊँ र मुख्य रूपमा आफ्नो चरित्रलाई । हामीले आफ्नो मूल्य आफैँ बनाउने हो ।

विद्यार्थीका हकमा
तपाईंले परीक्षामा ल्याएको अंकलाई मात्रै महत्व नदिनुस् । परीक्षामा फेल हुनु र जीवनमा फेल हुनु एउटै हो भन्ने भ्रम त्याग्नुस् । युवापुस्ताले संसार धेरै प्रतिस्पर्धात्मक छ भन्ने बुझेको छ । अब सोच्नुहोस्, सफलता आज पनि सहज छ र अवसरहरू धेरै छन् । त्यसैले पुरानो कुराको चिन्ता नगर्नुस् । कडा मिहिनेत गर्ने इच्छाशक्ति निर्माण गर्नुस् । सबै ठीक हुनेछ ।

यी विषयमा ध्यान दिनुस्
गलत बुझाइमाथि प्रतिबन्ध लगाउनुस्, किनकि तपाईंले यसको डरलाग्दो मूल्य तिर्नुपर्ने हुन्छ । प्रतिशोधले सामूहिक प्रयास ध्वस्त गर्न सक्छ । आफ्नो लक्ष्य निर्धारण गर्नुस् । यसले तपाईंलाई कहाँ जाँदै छु भन्ने जानकार गराउँछ । दृष्टिकोण तय गर्नुस् । यसले तपाईंले नदेखिने कुरा देख्न सक्ने क्षमता विकास गर्छ । तपाईंले असम्भव कुरालाई हासिल गर्न सक्नुहुन्छ । विश्वसनीयता र इमानदारिताले संस्थालाई धेरै फाइदा पु-याउँछ । सम्मानित हुनुभन्दा सम्मानको लायक हुनु राम्रो हो । कहिल्यै हरेस नखानुस् । - नयाँ पत्रिकाबाट  

प्रतिक्रिया दिनुहोस