चितवन । निरोगी व्यक्तिको तुलनामा मधुमेह भएकाहरुलाई हृदयाघातको खतरा दोब्बर रहने चिकित्सकहरुले बताएका छन् । विश्व मधुमेह दिवसको अवसरमा बुधबार भरतपुरमा आयोजित मधुमेह सम्बन्धी सचेतना कार्यक्रममा चिकित्सकहरुले यस्तो बताएका हुन् ।
मधुमेह समाज चितवन, पुष्पाञ्जली हस्पिटल, मधुमेह स्वयंसेवक समाज, लायन्स क्लब अफ पटिहानी, भरतपुर, भरतपुर चौतारी, नारायणगढ संगमचोक र नारायणगढ संगमचोक सञ्जीवनीले कार्यक्रमको आयोजना गरेका हुन् । कार्यक्रममा १४ देखि ८० वर्षसम्मका मधुमेहीको सहभागिता रहेको थियो । प्रदेश सभा सदस्य विजय सुवेदीले ८० वर्षीय मधुमेही श्रीप्रसाद पौडेललाई औषधि खुवाएर कार्यक्रमको उद्घाटन गर्नु भएको थियो ।
कार्यक्रममा बोल्दै मुटुरोग विशेषज्ञ डा. श्यामराज रेग्मीले मधुमेहीमा हृदयाघातको खतरा सामान्य व्यक्तिभन्दा दोब्बर रहने बताउनु भयो । उहाँले मधुमेहीमध्ये ६५ प्रतिशतको मृत्युको कारण मुटुरोग भएको पाइएको जानकारी दिनुभयो । मिर्गौला रोग विशेषज्ञ डा. माधव घिमिरेले मधुमेह रोग मिर्गौला, मुटु, आँखा र नशासम्बन्धी समस्याको प्रमुख कारण बनिरहेको बताउनु भयो । स्त्रीरोग विशेषज्ञ डा. हेमनाथ सुवेदीले गर्भवतीलाई मधुमेह हुन सक्ने जानकारी दिँदै २४ देखि २८ हप्ताभित्र गर्भवतीको मधुमेह जाँच गर्नु पर्ने बताउनु भयो ।
मधुमेहका बिरामीको उपचारमा सक्रिय कन्सल्टेण्ट फिजिसियन डा. भोजराज अधिकारीले असन्तुलित खानपानसँगैको विलासी जीवनको कारण दिनहुँ मधुमेह रोगीको संख्या बढ्दै गएको बताउनु भयो । मधुमेहकै कारण अन्य नसर्ने रोगहरुबाट समेत मानिस प्रभावित भइरहेको उहाँको भनाई छ । विश्वमा सबैभन्दा बढी मधुमेहका रोगी (२० प्रतिशत) भारत र चीनमा रहेको डा. अधिकारीले बताउनु भयो । उस्तै रहनसहन र खानपानका कारण नेपाल पनि मधुमेहको उच्च जोखिममा रहेको उहाँको भनाई थियो । नेपालीहरुको जीवनशैलीमा आएको परिवर्तनसँगै विलासी जीवन र असन्तुलित खानपानका कारण नेपालमा मधुमेहका रोगीहरु ह्वात्तै बढेको उहाँले बताउनु भयो ।
पुष्पाञ्जली हस्पिटल मधुमेह स्वयंसेवक समाज चितवनका अध्यक्ष कालीशंकर पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा मधुमेह समाज चितवनका अध्यक्ष केशव देवकोटा, लायन्स डिस्ट्रिक्ट ३२५ बीटुका पूर्वगभर्नर घनश्याम भट्टराई, मधुमेही तारा रिमाल लगायतले मन्तव्य व्यक्त गरेका थिए ।
विश्वभर १४ नाभेम्बरका दिन (गत बुधबार) विश्व मधुमेह दिवस मनाइन्छ । विश्व स्वास्थ्य संगठन (डब्लुटिओ)को आव्हानमा सन् १९९१ बाट विश्वभर नाभेम्बर १४ का दिन विश्व मधुमेह दिवस मनाउन सुरु गरिएको हो । विश्व मधुमेह दिवसको यस वर्षको नारा “परिवार र मधुमेह” रहेको छ । एक तथ्यांक अनुसार हाल विश्वमा मधुमेहका बिरामी ४५ करोड हाराहारी रहेको तथ्यांक छ । थप १० प्रतिशत मधुमेहको उच्च जोखिममा रहेका छन् । सन् २०३० सम्म पुग्दा प्रत्येक १० जनामध्ये एक जनामा मधुमेह रोग हुने अनुमान गरिएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २८ कार्तिक २०७५, १६ : २५
लेखकबाट थप