सहिद तथा बेपत्ता परिवारको एक जनालाई रोजगारी दिने व्यवस्था सुनिश्चित गर्दैछौँ : प्रचण्ड

सफल खबर संवाददाता

सोमबार, १५ बैशाख २०८२, १५ : ०५
सहिद तथा बेपत्ता परिवारको एक जनालाई रोजगारी दिने व्यवस्था सुनिश्चित गर्दैछौँ : प्रचण्ड

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज बर्दिया जिल्लाको राजापुर नगरपालिका–४ मा सहिद तथा बेपत्ता परिवारसँग अन्तरक्रिया र छलफलमा सहभागी भएका छन् ।

जनतासँग माओवादी, तराई मधेस जागरण अभियान अन्तर्गत आयोजित कार्यक्रममा अध्यक्ष प्रचण्डले सहिद तथा बेपत्ता परिवारका सदस्यहरूसँग प्रत्यक्ष संवाद गरे । अन्तरक्रियामा सहभागी दुवै स्थानीय तहका सहिद तथा बेपत्ता परिवारले संयुक्त रूपमा अध्यक्ष प्रचण्डलाई ज्ञापनपत्र पनि बुझाएका थिए ।

अन्तरक्रियामा सहभागीहरूले जनयुद्धको ऐतिहासिक सन्दर्भ, आफ्ना संघर्षका कथा लेखेर शैक्षिक पाठ्यक्रममा समेट्नुपर्ने, जीविकोपार्जन, बालबच्चाको पालनपोषण, शिक्षा र रोजगारीका समस्याहरू समाधान गर्न आग्रह गरे ।

गुनासाहरू सुनेपछि अध्यक्ष प्रचण्डले भने, ‘पार्टीले वर्गीय र सहिद, बेपत्ता परिवारसँग सम्बन्ध सुधार गर्न देशभर अभियान चलाइरहेको छ । हामी सकेसम्म सहिद तथा बेपत्ता परिवारका घरमै बसी दुःख सुख साट्दै आएका छौँ ।’

उनले जनयुद्धलाई राष्ट्रिय दिवसको रूपमा घोषणा गरेको प्रसंग स्मरण गरे ।प्रचण्डले थपे, ‘शान्ति प्रक्रिया नसकिन्जेल अदालतको आदेशका कारण रोकिएको भए पनि पार्टी जनयुद्धलाई राष्ट्रिय दिवसका रूपमा मनाउने पक्षमा अडिग छ ।’

उनले सत्य निरूपण तथा मेलमिलाप सम्बन्धी विधेयक अन्तिम चरणमा पुगेको र आयोग गठन प्रक्रिया अघि बढेको जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस