चितवन । चितवनको भरतपुर अस्पतालले स्वास्थ्य बिमाको रकम शोधभर्ना नपाउँदा उपचारमा समस्या भएको छ । स्वास्थ्य बिमा बोर्डले पचास करोड रुपैयाँ भुक्तानी नदिएका कारण उपचार खर्च व्यवस्थापन गर्न समस्या भएको अस्पतालले जानकारी दिएको छ ।
आर्थिक अभावका कारण बिमा रकम मार्फत दिइने सेवाहरु हटाउँदै गएको भरतपुर अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट प्रा।डा कृष्णप्रसाद पौडेलले बताए। ‘हालसम्मको पचास करोड रुपैयाँ बढी बिमा रकम हामीले पाएका छैनौँ,’ बिहीबार भरतपुर अस्पतालले आयोजना गरेको पत्रकार सम्मेलनमा मेडिकल सुपरिटेण्डेण्ट पौडेलले भने ‘हामीले नियमित सेवा दिन समस्या भइसकेको छ ।’ उनका अनुसार अस्पतालले बिमा बापत प्रदान गर्दै आएको २४ प्रकारका प्रयोगशाला सेवा हटाइएको छ । बिमाको रकम अझै केही समय रोकिएमा अस्पतालले औषधि दिन नसक्ने उनले बताए ।
अहिलेसम्म अस्पताल विकास समितिको बजेटबाट खर्च मिलान गरिएको छ । अस्पताल विकास समितिको कोषमा पनि बजेट सकिँदै गएको बताउँदै डा।।पौडेलले सरकारले रकम उपलब्ध नगराए सेवाहरु रोक्नुको विकल्प नहुने बताउनुभयो । उहाँका अनुसार अस्पतालले फागुन महिनादेखिको औषधि तथा अस्पताल जन्य उपकरण खरिद गरेको पैसा तिर्न बाँकी छ । औषधि र स्वास्थ्य सामग्री सप्लायर्सले भुक्तानी नपाएपछि सामग्री दिन बन्द गर्ने चेतावनी दिइसकेको उनले बताए ।
‘हामीले फागुन महिनादेखि औषधि खरिद गर्ने पाटीहरुलाई पेमेन्ट गर्न सकेका छैनौँ । हामीसँग औषधि तथा अस्पतालजन्य उपकरणहरु सकिरहन्छ,’ उनले भने, ‘पेमेन्ट नभएपछि उहाँहरुले रोक्छु भन्नुभएको छ ।’ औषधि र स्वास्थ्य सामग्री सप्लायर्सलाई अस्पतालले १२ करोड रुपैयाँ हाराहारीमा तिर्न बाँकी रहेको उहाँले बताउनुभयो । बिमा बोर्डले असार महिनापछि ३७ करोड हाराहारीमा भुक्तानी गरेको थियो । त्यसयता थपिँदै पचास करोड बढी पुगेको हो ।
अस्पतालले बिमामार्फत प्रत्येक महिना छ करोड रुपैयाँ बराबरको सेवा दिँदै आएको छ । आर्थिक अभावका कारण औषधि र अन्य आवश्यक सामग्री खरिद गर्न समस्या भैरहेको अस्पतालका अध्यक्ष राजु पौडेलले बताए । ‘अधिकांश हामीले किनेर खर्च गर्नुपरेको अवस्था छ, अध्यक्ष पौडेलले भने ‘अस्पतालले कहिलेसम्म सामान किनेर उपचार गर्न सक्ला र ?’ भरतपुर अस्पतालमा सरकारी दरबन्दी र अस्पताल विकास समितिमा गरेर एक हजार दुई सय पचास कर्मचारी छन् ।
विकास समितिका आठ सय कर्मचारीलाई तलब खुवाउनमात्रै मासिक साढे चार करोड रुपैयाँ खर्च हुने गरेको उनले बताए । बिमा बोर्डलाई अस्पतालको समस्या र औषधि सप्लायर्सले दिएको चेतावनीको जानकारीसहित पत्राचार गर्दा पनि रकम भुक्तानीमा गम्भीरता नभएको अध्यक्ष पौडेलले बताए । ‘हामीले स्वास्थ्यमन्त्रीदेखि स्वास्थ्य बिमा बोर्डका अध्यक्षलाई पनि पटक पटक भेटेर भनेका छौँ,’ उहाँले भन्नुभयो ‘तत्काल दिने कुनै आश्वासन पाएका छैनौँ ।’
बिमाबाट औषधि मात्रै नभएर ल्याब र अप्रेशन सेवा समेत दिनुपरेकाले खर्च धान्न कठिन भैरहेको छ । ‘अस्पतालमा आउने ७० प्रतिशत बिरामी बिमाका छन् । दैनिक एक हजार पाँच सय बिरामी बिमा अन्तरगतका हुन्छन्,’ बिमा शाखा प्रमुख लिलाधर पौडेलले भने ‘साउनदेखि हालसम्म इसिजीमा मात्र एक करोड रुपैयाँ बढी खर्च भएको छ ।’ बिमाको सेवा नरोक्ने हो भने अस्पताललाई भार अझ थपिँदै जान्छ । बिमा रकम भुक्तानी नभएपछि देशका कतिपय अस्पतालले बिमाको सेवा नै बन्द गरेका छन् । यही अवस्थामा गए यहाँ पनि हटाउनुपर्ने बेला आउने अस्पतालले बताएको छ ।
भरतपुर अस्पतालमा विसं २०७४ भदौ १ गतेदेखि स्वास्थ्य बिमा कार्यक्रम कार्यान्वयनमा आएको थियो । गत असार मसान्तसम्ममा अस्पतालले स्वास्थ्य बिमा कार्यक्रमबाट एक अर्ब ८८ करोड ९६ लाख ७८ हजार एक सय ५८ प्राप्त गरेको थियो । दश लाख ३५ हजार एक सय १५ पटक सेवा लिएका थिए ।
भरतपुर अस्पतालमा एक दर्जन बढी जिल्लाका बिमाका बिरामी उपचारका लागि आउने गर्दछन् । चितवनसहित नवलपुर, मकवानपुर, तनहुँ र गोरखा लगायतका जिल्लाबाट पनि बिमाको उपचार गर्न बिरामीहरु आउने गरेका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, १२ बैशाख २०८२, १५ : १७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
भरतपुर अस्पतालमा प्लाष्टिकका झोला प्रतिबन्धित
भरतपुर अस्पतालको प्रयोगशाला रिपोर्ट स्वचालित मेसिनबाट
चितवनमा चिसोका बिरामी बढे, सावधानी अपनाउन आग्रह
भरतपुर अस्पतालमा टोकन प्रणाली सुरु, भीड व्यवस्थापन सहज
भरतपुर अस्पतालमा शल्यक्रियाका क्रममा महिला मृत्यु प्रकरण : ९ सदस्यीय छानविन समिति गठन
भरतपुर अस्पतालमा पाठेघरको बायोप्सी निकाल्न खोज्दा एकजनाको मृत्यु