भरतपुर अस्पतालमा शल्यक्रियाका क्रममा महिला मृत्यु प्रकरण : ९ सदस्यीय छानविन समिति गठन

सफल खबर संवाददाता

बुधबार, ०५ भदौ २०८१, १५ : ४३
भरतपुर अस्पतालमा शल्यक्रियाका क्रममा महिला मृत्यु  प्रकरण : ९ सदस्यीय छानविन समिति गठन

भरतपुर ।  भरतपुर अस्पतालमा पाठेघरको शल्यक्रिया गर्ने क्रममा एक महिलाको मृत्यु भएपछि छानविन समिति गठन गरिएको छ । भरतपुर महानगरपालिका–१२ मुनाल चोक स्थायी घर भई हाल गैडाकोट बस्ने ३९ वर्षीया सम्झना काफ्लेको मङ्गलबार पाठेघरको शल्यक्रिया गरेर बायोप्सी निकाल्ने क्रममा मृत्यु भएपछि छानविन समिति गठन गरिएको हो ।

आज (बुधबार) जिल्ला प्रशासन कार्यालय चितवनमा बसेको सुरक्षा समितिको बैठकले भरतपुर अस्पतालका डाक्टर प्रकाश खतिवडा संयोजक रहनेगरी नौं सदस्सीय सर्वपक्षिय छानविन समिति गठन गरेको छ ।

छानविन समितिमा बीपि कोइराला मेमोरियल क्यान्सर अस्पतालका एनेस्थेसियन डा।प्रदिप थापा, प्रहरी निरीक्षक बिबेक घिमिरे, अनुसन्धान अधिकृत अजय शर्मा,जिल्ला प्रशासन कार्यालय चितवनका प्रशासकिय अधिकृत अन्तिम सिन्जाली, पिडित पक्षका तर्फबाट रमेश काफ्ले, राजेन्द्र ढकाल, मन्दिरा काफ्ले रहेका छन । यस्तै सदस्य सचिवमा शाखा अधिकृत तुलसीराम आचार्यलाई तोकिएको प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिए । छानविन समितिले सातदिन भित्र प्रतिबेदन जिल्ला प्रशासन कार्यालयमा पेश गर्नुपर्नेछ ।

यस्तै छानविन समितिले तयार पारेको प्रतिबेदनमाथि कारवाहीका लागि गृहमन्त्रालय, स्वास्थ्य मन्त्रालय र नेपाल मेडिकल काउन्सिललाई अनुरोध गर्ने समेत निर्णय गरिएको यादवले बताए । सहमतीसंगै मृतक महिलाको शव बुझेर अन्तिम संस्कारका लागि लैजान परिवार सहमत भएका छन ।

माइनर (साधारण) शल्यक्रिया गर्दा चिकित्सकको लापरवाहीले महिलाको मृत्यु भएको आफन्तले आरोप लगाएका छन । भरतपुर अस्पतालका सूचना अधिकारी गोपाल पौडेलका अनुसार पाठेघरको बायोप्सी निकाल्दा बेहोस बनाउने क्रममा उनको मृत्यु भएको हो । पाठेघरमा सिष्ट भएको भन्दै उनको शल्यक्रिया गरेर बायोप्सी निकाल्न लागिएको थियो । मृतक महिलाको मुटुमा पहिल्यैदेखि समस्या रहेको पौडेलले बताए। बिरामीको अवस्था गम्भीर भएपछि बचाउन आइसीयूमा राखे पनि बचाउन नसकिएको उनले जानकारी दिए ।

मृतक महिला यही भदौ ३ गते पाठेघरको ट्यूमरको शल्यक्रियाका लागि भरतपुर अस्पतालमा भर्ना भएकी थिइन् । मङ्गलबार बिहान ९ बजे शल्यक्रिया थियटरमा राखी लठ्ठाउने सुई लगाइ बेहोस बनाउने क्रममा उनको होस नआएको पौडेलले बताए ।